अस्ट्रेलियाको पर्थ सहरमा भएको कार दुर्घटनामा एक नेपालीको मृत्यु
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । अस्ट्रेलियाको पर्थ सहरमा भएको कार दुर्घटनामा एक नेपालीको मृत्यु भएको छ ।
नेपालबाट पारिवारिक भ्रमणमा आएकी विष्णुमाया गुरुङको मृत्यु भएको हो । पर्थको रिभरभेल क्षेत्रमा शुक्रबार अबेर राति अनियन्त्रित कार गुरुङ परिवार बसेको घरभित्र पसेको थियो ।
सयनकक्षमै सुतिरहेकी ५३ वर्षीया गुरुङको कारको ठक्करवाट मृत्यु भएको हो । आपतकालीन सेवाले उद्धारको प्रयास गरे पनि उनलाई घटनास्थलमै मृत घोषित गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कार अनियन्त्रित हुँदै मुख्य सडकबाट बाहिरिएर घरको बार तोड्दै सिधै गुरुङ परिवार बस्ने सयन कक्षमा प्रवेश गरेको थियो ।
कार चालक ३६ वर्षीय पुरुषलाई घटनास्थलबाटै पक्राउ गरिएको छ । उनलाई हत्या र सम्पत्ति क्षतिको अभियोग लगाइएको प्रहरीले जनाएको छ । चालकलाई अदालतले धरौटी समेत अस्वीकार गरेको छ ।













