जापानको निर्वाचनमा एलडीपीको दबदबा, ताकाइचीलाई बलियो जनादेश
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । जापानमा आइतबार सम्पन्न आम निर्वाचनले देशको राजनीति स्पष्ट दिशामा धकेलेको छ।
प्रधानमन्त्री साने ताकाइचीको नेतृत्वमा रहेको लिबरल डेमोक्र्याटिक पार्टीले प्रतिनिधि सभामा अभूतपूर्व सफलता हासिल गरेको छ। बीबीसीका अनुसार ४६५ सिटको प्रतिनिधि सभामध्ये एलडीपीले एक्लैले ३१६ सिट जितेको छ, जुन आवश्यक बहुमत २३३ सिटभन्दा धेरै हो।
गठबन्धनसहित एलडीपीको सिट संख्या ३५२ पुगेको छ। यो जित एलडीपीको इतिहासमै सबैभन्दा ठूलो मानिएको छ। यसअघि पार्टीले सन् १९८६ मा ३०० सिट जितेर बनाएको कीर्तिमान यसपटक तोडिएको हो।
चुनावी नतिजापछि प्रधानमन्त्री ताकाइचीले जापानलाई आर्थिक र राजनीतिक रूपमा थप बलियो बनाउने प्रतिबद्धता दोहोर्याएकी छन्। राष्ट्रिय हितका मुद्दामा विपक्षीसँग सहकार्य गर्न पनि आफू तयार रहेको उनको भनाइ छ।
यो नतिजासँगै माथिल्लो सदनमा विपक्षीको प्रभाव रहे पनि तल्लो सदनमा प्राप्त बलियो बहुमतका कारण ताकाइची सरकारलाई कानुन निर्माण र नीति कार्यान्वयनमा कुनै ठूला अवरोध रहने छैनन्।













