पूर्वाधार ढिलाइले विकास महँगो बनायो : गगन थापा

User Image Prime TV News ३ हप्ता अगाडि
Image of पूर्वाधार ढिलाइले विकास महँगो बनायो : गगन थापा

काठमाडौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालमा पूर्वाधार आयोजना समयमै सम्पन्न नहुने प्रवृत्तिका कारण विकास प्रक्रिया महँगो र जटिल बन्दै गएको बताएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको भिडिओ सन्देशमा उनले यस्तो अवस्थाले आर्थिक उत्पादनमा समेत गम्भीर असर पारेको उल्लेख गरेका छन्।

थापाका अनुसार सडक, सिँचाइ, ऊर्जा जस्ता जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने पूर्वाधार आयोजनाहरू समयमा पूरा नहुँदा राज्यको स्रोत साधनको दुरुपयोग हुने र समग्र अर्थतन्त्र कमजोर बन्ने जोखिम बढेको छ। “हाम्रोमा पूर्वाधार समयमै नबन्ने ठूलो समस्या छ। यसले विकासको लागत बढाएको मात्रै होइन, आर्थिक उत्पादनमा पनि ठूलो असर पारेको छ,” उनले भने।

चमत्कारको आशामा बस्ने सोचले आगामी पाँच वर्ष पनि खेर जाने चेतावनी दिँदै थापाले सुधारका लागि व्यावहारिक कदम चाल्नुपर्नेमा जोड दिएका छन्। उनका अनुसार कानुनमा सुधार, संस्थागत क्षमता अभिवृद्धि, सार्वजनिक संस्थाहरूको कार्यशैलीमा परिवर्तन र नयाँ वित्तीय मोडेलहरूको अभ्यास अपरिहार्य भइसकेको छ।

त्यसैगरी उनले निजी क्षेत्रसँग विश्वासका साथ सहकार्य गर्नुपर्ने, केही नयाँ जोखिम लिनुपर्ने र अनुगमन प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्। “आगामी पाँच वर्ष खेर नजाने गरी काम गर्नुपर्नेछ,” भन्दै उनले पूर्वाधार आयोजना समयमै, गुणस्तरीय र पारदर्शी रूपमा सम्पन्न गर्ने प्रतिबद्धता दोहोर्‍याए ।