फागुन २१ को निर्वाचन दलको होइन, देशको जित हुने चुनाव होः रवि लामिछाने
Prime TV News ३ हप्ता अगाडि 
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन दल वा नेताको भन्दा पनि देशको जित हुने निर्वाचन भएको बताएका छन्।
रूपन्देही क्षेत्र नम्बर १ अन्तर्गत देवदहको खैरेनीमा आयोजित ‘जनसम्पर्क’ कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले विगतका निर्वाचनमा दल र नेताले मात्रै जित्दै आएको उल्लेख गर्दै यसपटक परिस्थिति फरक रहेको दाबी गरे। “दल र नेताले धेरैपटक जिते। हरेक निर्वाचनमा दलले जित्दै आए, तर फागुन २१ मा हुने यो चुनाव देशले जित्ने चुनाव हो,” उनले भने।
रास्वपामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको टिम समाहित भएको प्रसंग उल्लेख गर्दै लामिछानेले पार्टीमा पद बाँडफाँटभन्दा पनि जिम्मेवारीको स्पष्ट विभाजन गरिएको बताए। “हामीले पद बाँडेका छैनौं, जिम्मेवारी बाँडफाँट गरिएको छ,” भन्दै उनले पार्टीभित्र कार्यसम्पादनलाई प्राथमिकतामा राखिएको स्पष्ट पारे।
सभापति लामिछानेले आगामी पाँच वर्ष एउटै सभापति, एउटै प्रधानमन्त्री र एउटै सरकार रहने दाबीसमेत गरे। साथै, घोषणापत्रभन्दा काममा विश्वास गर्ने पार्टी भएको बताउँदै विगतमा अन्य दलहरूले गर्न नसकेका कामहरू आफूहरूले पूरा गर्ने प्रतिबद्धता जनाए।
देवदहबाट सुरु भएको रास्वपाको रूपन्देही जिल्ला स्तरीय अभियान साँझ लुम्बिनी पुगेर समापन हुने र त्यसपछि लामिछाने कपिलवस्तु जिल्ला प्रवेश गर्ने पार्टीले जनाएको छ। रास्वपा रूपन्देहीका सभापति डा. बुद्धि प्रसाद शर्माका अनुसार अभियानका क्रममा जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा पुगिनेछ।
समय अभावका कारण बाटोमा पर्ने २६ स्थानमा औपचारिक सम्बोधन गर्न नसकिने भए पनि सभापति लामिछानेले केही स्थानमा रोकिएर उपस्थित जनसमुदायलाई हात हल्लाउँदै अभिवादन गर्ने कार्यक्रम तय गरिएको छ।













