इरानमा नोबेल विजेता नरगिस मोहम्मदीलाई पुनः साढे सात वर्षको जेल सजाय
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । इरानकी चर्चित मानवअधिकार अभियन्ता तथा नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई इरानको एक अदालतले पुनः साढे सात वर्षको जेल सजाय सुनाएको छ।
यो फैसला इरानको उत्तर पूर्वी सहर मशहदस्थित अदालतले सुनाएको हो। मोहम्मदीका कानुनी प्रतिनिधि मोस्तफा निलीले सामाजिक सञ्जालमार्फत् अदालतको निर्णय सार्वजनिक गर्दै उनलाई दुई फरक आरोपमा सजाय दिइएको जानकारी दिएका छन्।
उनका अनुसार ‘मिलेमतोमा षड्यन्त्र रचेको’ अभियोगमा छ वर्ष र ‘प्रोपोगान्डा गतिविधि’ गरेको आरोपमा थप डेढ वर्ष जेल सजाय सुनाइएको छ। ५३ वर्षीया मोहम्मदी विगत केही वर्षदेखि निरन्तर रूपमा इरानी न्याय प्रणालीको निशानामा पर्दै आएकी छन्। उनी सन् २०२१ देखि तेहरानको कुख्यात एविन जेलमा थुनामा थिइन्। स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि डिसेम्बर २०२४ मा मेडिकल आधारमा तीन साताका लागि अस्थायी रिहाइ दिइएको थियो।
तर, गार्डियनको रिपोर्टअनुसार मानवअधिकार अभियन्ता र पश्चिमा मुलुकहरूको दबाबका कारण उनको अस्थायी रिहाइ अवधि केही समय थपिएको थियो। त्यसपछि डिसेम्बर २०२५ मा एक शोक सभामा ‘उत्तेजक अभिव्यक्ति’ दिएको आरोप लगाउँदै उनलाई पुनः पक्राउ गरिएको थियो।
सोही घटनासँग सम्बन्धित मुद्दामा अदालतले अहिलेको सजाय सुनाएको हो। मोहम्मदीले यसअघि पनि विभिन्न मुद्दामा पटक–पटक जेल सजाय भोग्दै आएकी छन्। इरानमा महिलामाथि हुने दमन, अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकार उल्लङ्घनविरुद्ध निर्भीक रूपमा आवाज उठाएकी मोहम्मदीलाई सन् २०२३ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो। उनको पछिल्लो सजायप्रति अन्तर्राष्ट्रियस्तरमा पुनः चिन्ता बढ्ने अनुमान गरिएको छ।













