प्रचण्डको चेतावनी: लोकप्रियतावादबाट लोकतन्त्रमाथि प्रहार हुने खतरा
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार काठमाडौँ–५ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा विश्व साम्राज्यवाद नेपालको लोकतन्त्र र समाजवादमाथि प्रहार गर्न लोकप्रियतावादको प्रयोग गरिरहेको आरोप लगाएका छन्।
प्रचण्डले सामाजिक सञ्जालमा मात्रै स्टन्ट गरेर केही नहुने स्पष्ट पार्दै भने, “सोसियल मिडियामा फन्डा गरे पनि उनीहरूसँग कुनै योजना र एजेन्डा छैन। विश्व साम्राज्यवादले विभिन्न देशमा पपुलिजम प्रस्तुत गर्दै लोकतन्त्र र समाजवादविरुद्ध प्रहार गरेको छ। नेपालमा पनि त्यही अन्तर्राष्ट्रिय फेनोमेना दोहोर्याउने र लोकतन्त्रमाथि प्रहार गर्ने भूराजनीतिक चलखेल भइरहेको छ।”
उनले त्यसको प्रतिवाद गर्न नयाँ संकल्प र राष्ट्र तथा जनताको हितमा शक्ति आवश्यक रहेको बताए। प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी यही उद्देश्यका लागि बनाइएको र यससँगै नयाँ विचार तथा एजेन्डा रहेको दोहोर्याए। त्यसैगरी, उनले गणतन्त्र, संघीयता र सामाजिक न्याय जस्ता मूल्यहरू अझै पनि नयाँ रहेको र त्यसको नेतृत्व नेकपाले नै गरिरहेको बताए।












