व्यापारी र सशस्त्र प्रहरीबीच झडप, सामान नियन्त्रणमा
Prime TV News ३ हप्ता अगाडि 
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१०, आदर्शनगरस्थित ‘बबिता इन्टरप्राइजेज’ गोदाममा सशस्त्र प्रहरी बल नेपाल र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले छापा हानेपछि व्यापारी र सुरक्षाकर्मीबीच झडप भएको छ।
घटनामा तीन जना सशस्त्र प्रहरी कर्मचारी सामान्य घाइते भएका छन्। सशस्त्र प्रहरी नायव उपरीक्षक विकास अधिकारीका अनुसार, टोली विशेष सूचनाको आधारमा प्रमोद कुमार कानुले सञ्चालन गरेको गोदाममा पुगेको थियो।
टोलीले खानतलासी सुरु गर्दा स्थानीय व्यापारीहरूले विरोध जनाएका थिए। व्यापारीहरूले आफूहरूसँग सामानको बिल स्पष्ट रहेको दाबी गर्दै, अनावश्यक दु:ख दिएको आरोप लगाएका छन्। बिल देखाएपनि सामान नियन्त्रणमा लिन खोजिएपछि तनाव बढेको बताइएको छ।
झडपका क्रममा आक्रोशित व्यापारीहरूले सुरक्षाकर्मीमाथि ढुङ्गा प्रहार गर्दा तीन जना सशस्त्र प्रहरी घाइते भए र सुरक्षाकर्मीको प्रयोग गरेको गाडीको अगाडिको सिसा फुटेको छ। सशस्त्र प्रहरीले गोदामबाट ५ पोका साडी, कुर्ता–सुरुवाल लगायतका कपडा नियन्त्रणमा लिएको जनाएको छ। अनुमानित मूल्य करिब ५ लाख रुपैयाँ रहेको भए पनि विस्तृत विवरण र परिमाण हाल सार्वजनिक गरिएको छैन।
नायव उपरीक्षक अधिकारीले गोदामको मालिक र सामानको वैधता सम्बन्धमा थप अनुसन्धान जारी रहेको जानकारी दिएका छन्। घटनापछि उक्त क्षेत्रमा सुरक्षा कडा पारिएको छ।













