स्कटल्यान्डले इटालीलाई ७३ रनले हराउँदै टी–२० विश्वकप २०२६ मा शानदार सुरुवात गर्यो

User Image Prime TV News ३ हप्ता अगाडि
Image of स्कटल्यान्डले इटालीलाई ७३ रनले हराउँदै टी–२० विश्वकप २०२६ मा शानदार सुरुवात गर्यो

काठमाडौ । आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा समूह ‘सी’ को खेलमा स्कटल्यान्डले डेब्यु खेल खेलिरहेको इटालीलाई ७३ रनले पराजित गरेको छ।

इटालीले सोमबार भारतको कोलकातास्थित इडेन गार्डेनमा खेलको दोस्रो इनिङ्समा २०८ रनको लक्ष्य पछ्याएको थियो, तर १६.४ ओभरमा सबै विकेट गुमाएर केवल १३४ रन मात्र बनाउन सक्यो। स्कटल्यान्डका बलिङरहरूले इटालीका सबै ब्याट्समनलाई क्याच आउट गरेका थिए।

स्कटल्यान्डका माइकल लिस्कले चार विकेट लिएर इटालीको ब्याटिङलाई नियन्त्रणमा राखे। चार ओभरमा मात्र १४ रन खर्चेका लिस्कको प्रदर्शन उत्कृष्ट रह्यो। मार्क वाटले दुई विकेट लिए भने ब्राड करी, ब्राड व्हिल र ओलिभर डेविडसनले समान एक–एक विकेट लिए।

इटालीका लागि बेन मनेन्तीले सर्वाधिक ५२ रन बनाउँदा ह्यारी मनेन्तीले ३७, जे जे स्मत्सले २२ र एन्टोनी मोस्काले १३ रन जोडे। पहिलो इनिङ्समा टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा चार विकेट गुमाएर २०७ रन बनायो।

ओपनर जर्ज मुन्सीले ५४ बलमा ८४ रन बनाउँदै टीमको रन तालिकामा ठूलो योगदान दिए। ब्रान्डन म्याकमुलेनले १८ बलमा ४१ रन बनाए भने माइकल जोन्सले ३७ रनको ठोस योगदान गरे। कप्तान रिची बेरिङटनले १५ रन जोडे र माइकल लिस्क २२ रनको अविजीत पारी खेले।

इटालीका अलि हसन, थोमस ड्राका, ग्रान्ट स्टेवर्ट र जे जे स्मत्सले समान एक–एक विकेट लिए। यस जितसँगै स्कटल्यान्डले समूह ‘सी’ मा प्रतियोगितामा आफ्नो पहिलो २ अंक सुरक्षित गरेको छ।