प्रधानमन्त्रीको हैसियतमा आफुले कसैलाई पनि गोली चलाउन आदेश दिएको छैनः केपी ओली
Prime TV News ३ हप्ता अगाडि 
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपराधीक तत्वहरुले आफुमाथि बिभिन्न आरोप लगाउने गरेको बताएका छन् ।
सोमबार झापाको गौरीगञ्जमा स्थानीय मतदातासंगको छलफलका क्रममा अध्यक्ष ओलीले भाद्र २३ र २४ गते जेनजीहरुको आन्दोलनमा अपराधीक तत्वहरु घुसेर बिध्वंस मच्चाएको र तिनै अपराधीक तत्वहरुले उल्टै आफूमाथि गोली चलाएर मान्छे मारेको आरोप लगाउने गरेको बताए ।
तत्कालिन प्रधानमन्त्रीको हैसियतमा आफुले कसैलाई पनि गोली चलाउन आदेश नदिएको दोहराउदै अध्यक्ष ओलीले संसद भवन, सिंहदरबार जलाउने कोसिस गरेर प्रहरीलाई गोली चलाउने वातावरण अपराधीक तत्वहरुले नै बनाएको धारणा राखे । उनले आफुले राजीनामा दिएपछि ५४ जनाको मृत्यु भएको उल्लेख गर्दै मुलुकको बिकासका लागि एमालेले सवै भन्दा धेरै काम गरेको दावी गरे ।
गोवर र गुँईठा बाल्नुपर्ने अवस्थाबाट बिकास गरेर बिजुली बाल्ने अवस्थामा पुग्नुपर्छ भन्दा केहिले तोडमोड गरेको भन्दै उनले आपत्ति जनाए । नेपालमा ग्यास उन्खनन भइसकेको भन्दै अव त्यसलाई सदुपयोग गरेर घर–घरमा पाइपबाट बितरण गर्नुपर्ने बताए ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेदवार रहेका ओली पछिल्लो समय झापामा स्थानीयसंगको छलफलमा केन्द्रीत रहि चुनावी गतिविधी गरि रहेका छन् ।













