जेनजी आन्दोलन छानबिन आयोगको म्याद तेस्रो पटक थपिँदै
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगको म्याद तेस्रो पटक थपिने भएको छ।
सोमबार अपराह्न ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकले आयोगको म्याद पुनः विस्तार गर्ने तयारी गरेको हो। पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठन गरिएको तीन सदस्यीय जाँचबुझ आयोगले तोकिएको समयमा काम पूरा गर्न नसकेपछि सरकार म्याद थप्न बाध्य भएको हो।
म्याद थप्ने निर्णय लगभग निश्चित भए पनि कति समयका लागि थप्ने भन्ने विषय भने टुंगो लागिसकेको छैन। सरकारले गत असोज ५ गते जेनजी आन्दोलनका क्रममा भएको बल प्रयोग, मृत्यु तथा अन्य घटनाको छानबिन गर्न आयोग गठन गरेको थियो।
आयोगलाई सुरुमा तीन महिनाको समय दिइएको थियो। तर तोकिएको अवधिमा प्रतिवेदन तयार हुन नसकेपछि पुस ३ गते एक महिनाका लागि म्याद थप गरिएको थियो। त्यसपछि पनि काम नसकिएपछि माघ ८ गते पुनः २० दिन म्याद थप्ने निर्णय गरिएको थियो।
हालको म्याद बुधबार सकिँदैछ। सो अवधिमा पनि प्रतिवेदन तयार हुन नसकेपछि सरकारले फेरि म्याद थप्न लागेको हो। आयोगमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेका छन्। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको थियो। उक्त घटनाले देशभर ठूलो राजनीतिक र सामाजिक बहस सिर्जना गरेको थियो।












