मंगलबार तीन खेल, समूह चरणमा प्रतिस्पर्धा चर्किँदै

User Image Prime TV News ३ हप्ता अगाडि
Image of मंगलबार तीन खेल, समूह चरणमा प्रतिस्पर्धा चर्किँदै

काठमाडौ । भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी–२० क्रिकेट प्रतियोगितामा मंगलबार तीनवटा महत्वपूर्ण खेल हुँदै छन्। समूह चरणको प्रतिस्पर्धा तीव्र बन्दै जाँदा विभिन्न समूहका टोलीहरू अंक तालिकामा मजबुत स्थान बनाउने प्रयासमा छन्।

मंगलबार हुने पहिलो खेल ग्रुप ए अन्तर्गत नामिबिया र नेदरल्यान्ड्सबीच हुनेछ। दिल्लीमा आयोजना हुने यो खेल बिहान ११ः१५ बजे सुरु हुनेछ। नामिबियाका लागि यो प्रतियोगिताको पहिलो खेल हो भने नेदरल्यान्ड्स पहिलो खेलमा पराजय व्यहोरेपछि जितको दबाबमा छ।

दोस्रो खेल ग्रुप डी अन्तर्गत चेन्नईमा अपराह्न ३ः१५ बजे हुनेछ। यस खेलमा न्युजिल्यान्ड र यूएई आमनेसामने हुनेछन्। न्युजिल्यान्डले पहिलो खेल जित्दै राम्रो सुरुवात गरिसकेको छ भने यूएई प्रतियोगितामा पहिलो पटक मैदान उत्रन लागेको हो।

तेस्रो खेल साँझ ७ः१५ बजे श्रीलंकाको राजधानी कोलम्बोमा हुनेछ। ग्रुप ए अन्तर्गत हुने यस खेलमा पाकिस्तान र अमेरिका भिड्नेछन्। पाकिस्तान पहिलो खेल जित्दै आत्मविश्वासमा देखिएको छ भने अमेरिका पहिलो खेलमा हार व्यहोरेर पुनरागमनको खोजीमा छ।

अहिलेसम्मको अंक तालिकाअनुसार ग्रुप ए मा भारत र पाकिस्तान समान दुई–दुई अंकसहित पहिलो र दोस्रो स्थानमा छन्। ग्रुप बी मा जिम्बाब्वे र श्रीलंकाले पहिलो खेल जित्दै दुई अंक जोडेका छन्।

ग्रुप सी मा वेस्ट इन्डिज शीर्ष स्थानमा छ भने स्कटल्यान्ड र इंग्ल्यान्ड समान दुई अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्। ग्रुप डी मा दक्षिण अफ्रिका र न्युजिल्यान्डले पहिलो खेल जित्दै अग्रता बनाएका छन्।

यसैबीच, ग्रुप ए बाट नेदरल्यान्ड्स र अमेरिका, ग्रुप बी बाट आयरल्यान्ड र ओमान, ग्रुप सी बाट नेपाल र इटली तथा ग्रुप डी बाट अफगानिस्तान र क्यानडाले पहिलो खेलमा हार बेहोरेका छन्। यूएई, अस्ट्रेलिया र नामिबियाले भने हालसम्म प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्न बाँकी छ।