भारतविरुद्ध खेल्न पाकिस्तान तयार, फेब्रुअरी १५ मा कोलम्बोमा बहुप्रतीक्षित भिडन्त

User Image Prime TV News ३ हप्ता अगाडि
Image of भारतविरुद्ध खेल्न पाकिस्तान तयार, फेब्रुअरी १५ मा कोलम्बोमा बहुप्रतीक्षित भिडन्त

काठमाडौ । टी–२० विश्वकपमा भारतसँग खेल्न अस्वीकार गरेको निर्णयबाट पछि हट्दै पाकिस्तान सरकार खेल्न सहमत भएको छ।

यससँगै भारत र पाकिस्तानबीचको बहुप्रतीक्षित खेल फेब्रुअरी १५ मा श्रीलंकाको कोलम्बोमा निर्धारित समयमै हुने भएको छ।  पाकिस्तान सरकारले १० दिनअघि भारतसँगको खेल नखेल्ने निर्णय गरेको थियो।

तर बहुपक्षीय कूटनीतिक पहल र मित्र राष्ट्रहरूको दबाबपछि सरकारले उक्त निर्णय बदलेको हो। पाकिस्तान सरकारद्वारा जारी आधिकारिक विज्ञप्तिमा क्रिकेटको भावना जोगाउन र विश्व खेलको निरन्तरताका लागि राष्ट्रिय टिमलाई मैदानमा उत्रन निर्देशन दिइएको उल्लेख छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पनि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) सँगको वार्ता सफल भएको पुष्टि गरेको छ। आईसीसीका अनुसार सबै सदस्य राष्ट्रहरूले आईसीसी इभेन्टप्रतिको प्रतिबद्धता सम्मान गर्ने र विश्वकपलाई सफल बनाउन सहमत भएका छन्।

यो विवाद पाकिस्तानले भारतसँग खेल्न नमान्ने घोषणा गरेपछि सुरु भएको थियो। पीसीबी अध्यक्ष मोहसिन नकवीले बंगलादेशलाई विश्वकपबाट हटाइएको विषयमा आईसीसीले दोहोरो मापदण्ड अपनाएको आरोप लगाएका थिए।

वार्तापछि बंगलादेशलाई कुनै कारबाही नगर्ने र २०२८–२०३१ चक्रमा थप एक आईसीसी इभेन्ट आयोजना गर्ने अधिकार दिने निर्णय गरिएको छ। यसपछि बंगलादेश क्रिकेट बोर्डले पनि पाकिस्तानलाई भारतसँग खेल्न आग्रह गरेको थियो।

श्रीलंका र यूएईजस्ता देशहरूले पनि भारत–पाकिस्तान खेल नहुँदा अन्य राष्ट्रहरूलाई ठूलो आर्थिक नोक्सान हुने भन्दै पाकिस्तानलाई खेल्न दबाब दिएका थिए। यसै क्रममा पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफले श्रीलंकाका राष्ट्रपति कुमारा दिस्सनायकेसँग प्रत्यक्ष संवादसमेत गरेका थिए।

विश्वकपको सबैभन्दा ठूलो र व्यावसायिक रूपमा महत्वपूर्ण मानिने भारत–पाकिस्तान खेल अब तय भएकाले क्रिकेटप्रेमीहरू फेब्रुअरी १५ मा रोमाञ्चक प्रतिस्पर्धा हेर्न पाउने भएका छन्।