चीनले गोप्य रूपमा आणविक परीक्षण गरेको अमेरिकाको आरोप

User Image Prime TV News ३ हप्ता अगाडि
Image of चीनले गोप्य रूपमा आणविक परीक्षण गरेको अमेरिकाको आरोप

काठमाडौ । अमेरिकाले चीनले गोप्य रूपमा आणविक परीक्षण गरेको आरोप लगाएपछि चीनले त्यसलाई कडा शब्दमा अस्वीकार गरेको छ। चीनको विदेश मन्त्रालयले अमेरिकी आरोपलाई पूर्ण रूपमा आधारहीन र सरासर झुट भएको दाबी गरेको हो।

जेनेभामा आयोजित नि:शस्त्रीकरणसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा अमेरिकी उपमन्त्री थोमस डिनान्नोले चीनले विस्फोटक आणविक उपकरणको परीक्षण गरिसकेको र ठुलो परिमाणमा थप परीक्षणको तयारी गरिरहेको आरोप लगाएका थिए।

उनले सन् २०२० जुन २२ मा चीनले आणविक उत्पादन विकासका लागि परीक्षण गरेको दाबीसमेत गरेका थिए। तर चीनको विदेश मन्त्रालयले ती सबै आरोप अस्वीकार गर्दै अमेरिका स्वयं नयाँ आणविक परीक्षणतर्फ अग्रसर भएको आरोप लगाएको छ। मन्त्रालयले अमेरिकाले प्रमाणबिना आरोप लगाएर अन्तर्राष्ट्रिय वातावरण बिगार्न खोजेको प्रतिक्रिया दिएको छ।

यो विवाद अमेरिका र रुसबीचको अन्तिम आणविक हतियार नियन्त्रण सन्धि ‘न्यु स्टार्ट’ को म्याद सकिएपछि सतहमा आएको हो। सन्धिको म्याद समाप्त भएपछि अमेरिकाले रुस र चीनसँग नयाँ आणविक सीमा निर्धारण गर्न त्रिपक्षीय वार्ताको प्रस्ताव अघि सारेको छ।

तर चीनले यसअघि नै आफू यस्ता नि:शस्त्रीकरण वार्तामा सहभागी नहुने स्पष्ट गरिसकेको छ। विश्वका ठूला आणविक शक्ति राष्ट्रहरूबीच बढ्दो अविश्वास र आरोप–प्रत्यारोपले विश्व सुरक्षा अवस्था थप अस्थिर बन्दै गएको संकेत दिएको छ। यहाँ शक्ति प्रदर्शन होइन, जिम्मेवारी चाहिएको छ; नत्र परिणाम गम्भीर हुने निश्चित छ।