वीरगञ्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

User Image Prime TV News ३ हप्ता अगाडि
Image of वीरगञ्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ

वीरगञ्ज । वीरगञ्जको आदर्शनगरस्थित एक अवैध गोदाममा छापा मार्ने क्रममा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सोमबार भन्सार छली गरी सामान भित्र्याइएको आशङ्कामा मदनप्रसाद गुप्ताको घरमा अवैध रूपमा सञ्चालन गरिएको गोदाममा छापा मारेको थियो। छापाको क्रममा स्थानीय व्यापारी समूहले आक्रमण गर्दा तीन जना सशस्त्र प्रहरी घाइते भएका थिए भने सशस्त्र प्रहरीका दुईवटा सवारीसाधनमा क्षति पुगेको थियो।

पर्सा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार घटनामा संलग्न चार जनालाई सोमबार रातिसम्म पक्राउ गरिएको हो। उनले सशस्त्र प्रहरीमाथि आक्रमण गर्नेहरूको पहिचान सिसिटिभी क्यामेरा फुटेजको आधारमा भइरहेको जानकारी दिए। अनुसन्धान जारी रहेकाले पक्राउ परेकाहरूको नाम हाल सार्वजनिक नगरिएको उनले बताए।

संयुक्त टोलीले सो गोदामबाट करिब १२ लाख ५० हजार रुपैयाँ बराबरका कपडा बरामद गरेको जनाएको छ। बरामद सामान भन्सार प्रक्रियाबाट नआएको आशङ्कामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको र संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।