गगन थापाले भनेः जनताको विश्वासलाई मतमा बदल्ने बेला आएको छ
Prime TV News ३ हप्ता अगाडि 
सुनसरी । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी र आफूप्रति जनताले देखाएको विश्वासलाई आगामी निर्वाचनमा मतमार्फत् व्यक्त गर्न आग्रह गरेका छन्।
मंगलबार सुनसरी–२ अन्तर्गत झुम्कामा आयोजित भेटघाट तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेसलाई जिताएर पठाउन मतदातासमक्ष अपिल गरे। उनले जनताको माया र विश्वास कांग्रेसका लागि ठूलो शक्ति भएको उल्लेख गरे।
सभापति थापाले कांग्रेसले जनतासामु गरेका प्रतिबद्धता कार्यान्वयन भएको छ कि छैन भन्ने कुरा जनतासमक्ष स्पष्ट पार्न नेता तथा कार्यकर्तालाई आग्रह गरे। कांग्रेस परिवर्तनसहित अघि बढेको दाबी गर्दै उनले भ्रष्टाचार अन्त्य र सुशासन स्थापनाका लागि ठोस आधारमा काम गर्ने बताए।
‘हामीले बोलेका कुरा पूरा गरेका छौँ, कांग्रेस बदलिएर आएको छ,’ थापाले भने, ‘अब जनताको विश्वासलाई व्यवहारमा उतार्ने जिम्मेवारी हाम्रो हो।’ उनले पार्टी नेतृत्व जनताको विश्वासमा आधारित भएको उल्लेख गर्दै त्यस विश्वासलाई मतमा परिणत गर्न सबै नेता तथा कार्यकर्तालाई एकजुट भएर लाग्न आग्रह गरे।
कार्यक्रममा स्थानीय कांग्रेस नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।













