प्रधानमन्त्री कार्कीले सेनालाई निर्देशन दिदै भनिन्ः चुनावी सुरक्षामा कुनै कमजोरी नहोस
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । प्रधानमन्त्री तथा रक्षा मन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनालाई चुनावी सुरक्षामा कुनै पनि प्रकारको कमजोरी हुन नदिन कडा निर्देशन दिएकी छन् ।
मंगलबार जंगी अड्डामा आयोजित पृतनापति समन्वयात्मक बैठकको उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले विगतका निर्वाचनमा सुरक्षा संयन्त्रबीच देखिएका समन्वयका कमजोरीहरू यसपटक दोहोरिन नदिन विशेष सतर्कता अपनाउन आग्रह गरिन्।
उनले विगतका निर्वाचन अनुभव तथा आगामी चुनावका सम्भावित चुनौतीहरूको सूक्ष्म विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा कार्य गर्न निर्देशन दिँदै सबै सुरक्षा निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताइन्। “चुनावी सुरक्षामा कुनै पनि चुक नहोस् भन्नेमा सबै निकाय गम्भीर हुनुपर्छ,” प्रधानमन्त्री कार्कीले भनिन्।
प्रधानमन्त्री कार्कीले नेपाली सेनाले प्राप्त गरेको जिम्मेवारीलाई उत्कृष्ट ढंगले सम्पन्न गर्नेमा आफू पूर्ण रूपमा विश्वस्त रहेको पनि उल्लेख गरिन्। साथै, निर्वाचन अवधिभर राजनीतिक दलका गतिविधिहरू बिना अवरोध सञ्चालन हुने सुरक्षित वातावरण निर्माण गर्न प्रहरीलगायत अन्य सुरक्षा निकायसँग सहकार्य गर्न निर्देशन दिइन्।
जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहयोग र सहजीकरण गर्न तथा लोकतान्त्रिक गतिविधिहरू निर्बाध रूपमा सञ्चालन गर्न स्पष्ट कार्ययोजनासहित अघि बढ्नुपर्नेमा उनले जोड दिइन्।












