सरकारले चालु आर्थिक वर्षको बजेट खर्च घटाउने निर्णय
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । सरकारले चालु आर्थिक वर्षमा हुने बजेट खर्चको अनुमान संशोधन गर्दै कुल खर्च घटाउने निर्णय गरेको छ।
अर्थ मन्त्रालयले अर्धवार्षिक समीक्षा अनुसार, बजेटमा उल्लेखित कुल खर्च प्रारम्भिक अनुमानभन्दा १४.०४ प्रतिशत कम हुने आँकलन गरेको छ। गत जेठ १५ गते सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो।
यसमा चालु खर्चतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड, पुँजीगत खर्चतर्फ ४ खर्ब ७ अर्ब ८९ करोड र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको थियो। संशोधित बजेट अनुसार चालु खर्च ११ खर्ब २५ अर्ब ९७ करोड, पुँजीगत खर्च २ खर्ब ४३ अर्ब ३० करोड र वित्तीय व्यवस्थापन ३ खर्ब १९ अर्ब ०४ करोड रुपैयाँ रहने अनुमान गरिएको छ।
यो प्रारम्भिक बजेटको तुलनामा क्रमशः ९५.३४ प्रतिशत, ५९.६५ प्रतिशत र ८५.०२ प्रतिशत हो। विशेषज्ञहरुका अनुसार, पुँजीगत खर्चमा सबैभन्दा बढी कटौती भएपछि विकास परियोजनामा ढिलाइ आउन सक्ने सम्भावना रहेको छ। चालु खर्च र वित्तीय व्यवस्थापनमा भने तुलनात्मक रूपमा कम कटौती गरिएको छ।
सरकारको यो कदमले आर्थिक व्यवस्थापनमा बढी सन्तुलन ल्याउने प्रयास गरेको मूल्याङ्कन गरिएको छ।













