राजेन्द्र महतो नेतृत्वको मुक्ति पार्टीले सार्वजनिक गर्यो चुनावी घोषणापत्र

User Image Prime TV News ३ हप्ता अगाडि
Image of राजेन्द्र महतो नेतृत्वको मुक्ति पार्टीले सार्वजनिक गर्यो चुनावी घोषणापत्र

काठमाडौ । प्रतिनिधि सभा निर्वाचनको तयारीका क्रममा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले मंगलबार केन्द्रीय कार्यालयमा आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।

पार्टी अध्यक्ष महतोले आयोजित कार्यक्रममा घोषणापत्र सार्वजनिक गर्दै संविधानको पूर्ण संशोधन र प्रदेशको पुनर्संरचनालाई आफ्नो प्राथमिकतामा राखेको बताए। घोषणापत्र अनुसार, पार्टीले बहुलराष्ट्रिय लोकतन्त्रको स्थापना गर्ने र सबै राष्ट्र तथा समुदायलाई आत्मनिर्णय, स्वायत्तता र समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी दिने लक्ष्य लिएको छ।

मुक्ति पार्टीको घोषणापत्रमा भनिएको छ कि पार्टीले सबै क्षेत्रलाई स्वशासन र आत्मनिर्णयको अधिकार प्रदान गर्नेछ। यसअन्तर्गत आदिवासी, जनजाति, मधेसी, पिछडा वर्ग, दलित र पिछडिएका क्षेत्रलाई विशेष संरक्षण दिने प्रतिबद्धता रहेको छ। साथै, प्रत्येक सांस्कृतिक राष्ट्रको पहिचान, भाषा, धर्म र परम्परालाई संवैधानिक संरक्षण दिनेसमेत घोषणापत्रमा उल्लेख गरिएको छ।

पार्टीले आगामी दुई वर्षभित्रै प्रदेशको पुनर्संरचना गर्ने योजना बनाएको छ। यसले पहिचानमा आधारित संघीयता लागू गर्ने उद्देश्य राख्दछ र प्रदेशहरूको सिमांकन र नामांकनमा पुनरावलोकन गरी प्रत्येक राष्ट्रियताको आत्मनिर्णय अधिकारको सुनिश्चितता गर्ने भनिएको छ।

राजेन्द्र महतोले पार्टीको घोषणापत्रलाई "समानुपातिक प्रतिनिधित्व, क्षेत्रीय स्वशासन र सांस्कृतिक संरक्षण सुनिश्चित गर्ने हाम्रो प्रतिबद्धता" भन्दै आगामी निर्वाचनमा जनताको विश्वास र समर्थन माग गरेका छन्।