तामाकोशीमा भएको बस दुर्घटनामा मृतकको संख्या ७ पुग्यो
Prime TV News ३ हप्ता अगाडि 
रामेछाप । रामेछापको तामाकोशी नदीमा मंगलबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ। दुर्घटनामा १२ जना घाइते भएका छन्, जसमध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
काठमाडौबाट रामेछाप हुँदै ओखलढुङ्गातर्फ जाँदै गरेको बा प्र ०१००६ ख ९९७५ नम्बरको बस बिहान तामाकोशी नदीमा खस्दा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक (डीएसपी) भोला भट्टका अनुसार दुर्घटनामा परी ७ जनाको घटनास्थलमै तथा उपचारका क्रममा मृत्यु भएको हो।
घाइतेहरूलाई उद्धार गरी मन्थली अस्पतालमा उपचारका लागि ल्याइएको छ। अस्पताल प्रशासनले सात जनाको शव अस्पतालमा ल्याइएको पुष्टि गरेको छ। मृतकहरूको सनाखत भने हालसम्म हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।













