घोषणापत्रमार्फत नेकपाको कडा राजनीतिक सन्देश, अन्य दललाई चार धारमा वर्गीकरण
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीले आगामी निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरेको चुनावी घोषणापत्रमार्फत मुलुकको राजनीतिक दृश्यलाई चार धारमा विभाजन गरेको छ।
घोषणापत्रमा पार्टीले आफूलाई ‘क्रान्तिकारी शक्ति’को रूपमा उभ्याउँदै अन्य दलहरूमाथि तीव्र राजनीतिक आरोप र विश्लेषण प्रस्तुत गरेको छ। घोषणापत्र अनुसार राजनीतिक शक्तिहरूलाई क्रान्तिकारी, यथास्थितिवादी, पपुलिष्ट र प्रतिगामी पुनरुत्थानवादी गरी वर्गीकरण गरिएको छ। नेकपाले स्पष्ट समाजवादी कार्यदिशा र रूपान्तरणकारी एजेन्डा बोकेको एकमात्र शक्ति आफू भएको दाबी गरेको छ।
नेकपा एमाले र नेपाली कांग्रेसलाई यथास्थितिवादी शक्तिका रूपमा चित्रण गर्दै घोषणापत्रमा ती दलहरूबाट देशको संरचनागत समस्या समाधान सम्भव नभएको टिप्पणी गरिएको छ। पुरानै शासनशैली र शक्ति संरचना जोगाउने मानसिकताका कारण उनीहरू परिवर्तनको बाधक बनेको आरोप लगाइएको छ।
घोषणापत्रमा नयाँ उदाएका दलहरूप्रति झनै कडा भाषा प्रयोग गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका शक्तिहरूलाई ‘सिद्धान्तहीन पपुलिष्ट’ भन्दै भदौ २४ को विध्वंशकारी घटनासँग सम्बन्धित रहेको गम्भीर आरोप गरिएको छ। यस्ता शक्तिहरूले लोकप्रिय नारामार्फत भ्रम सिर्जना गरे पनि दीर्घकालीन समाधान दिन नसक्ने नेकपाको दाबी छ।
यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई ‘प्रतिगामी पुनरुत्थानवादी’ शक्तिको रूपमा व्याख्या गर्दै जनआन्दोलनद्वारा अन्त्य गरिएको सामन्ती राजतन्त्र पुनःस्थापना गर्ने प्रयास भइरहेको आरोप लगाइएको छ। घोषणापत्रमा यस्ता प्रवृत्तिले लोकतान्त्रिक उपलब्धिमाथि खतरा पैदा गर्ने उल्लेख गरिएको छ।
नेकपाले विगतका जनसंघर्ष र राजनीतिक परिवर्तनहरूको नेतृत्व आफूले गरेको दाबी गर्दै संघीयता, समावेशिता र लोकतान्त्रिक अधिकारहरू आफ्नै संघर्षको परिणाम भएको उल्लेख गरेको छ। अब व्यवस्था मात्र होइन, जनताको जीवनस्तर र अवस्था परिवर्तन गर्ने ऐतिहासिक जिम्मेवारी पनि आफ्नो काँधमा रहेको पार्टीको भनाइ छ।













