फागुन ३ भित्र निर्वाचन घोषणापत्र सार्वजनिक गर्न आयोगको समयसीमा

User Image Prime TV News ३ हप्ता अगाडि
Image of फागुन ३ भित्र निर्वाचन घोषणापत्र सार्वजनिक गर्न आयोगको समयसीमा

काठमाडौ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका क्रममा राजनीतिक दल तथा उम्मेदवारहरूलाई समयमै निर्वाचन घोषणापत्र सार्वजनिक गर्न निर्देशन दिएको छ। आयोगले फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी कानुनअनुसार पेस गर्नुपर्ने स्पष्ट पारेको छ।

मंगलबार बसेको आयोगको बैठकले आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै घोषणापत्रसम्बन्धी प्रक्रिया कडाइका साथ पालना गराउन निर्णय गरेको हो। आयोगका अनुसार राजनीतिक दलहरूले आफ्नो प्रतिबद्धता पत्र निर्वाचन आयोगमा र उम्मेदवारहरूले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ अनुसार घोषणापत्र सार्वजनिक गर्नु कानुनी दायित्व भएको जनाएको छ। घोषणापत्रमार्फत मतदातालाई स्पष्ट नीति, कार्यक्रम र प्रतिबद्धता जानकारी गराउनु लोकतान्त्रिक अभ्यासको महत्त्वपूर्ण पाटो भएको आयोगको भनाइ छ।

आयोगले आचारसंहिता विपरीत पर्ने, असम्भव वा भ्रम सिर्जना गर्ने खालका प्रतिबद्धता घोषणापत्रमा समावेश नगर्न पनि दल तथा उम्मेदवारलाई सचेत गराएको छ। समयसीमा उल्लङ्घन भए कानुनअनुसार आवश्यक कारबाही हुन सक्ने चेतावनीसमेत आयोगले दिएको छ।