आईसीसी पुरुष टी२० विश्वकप: आज तीन खेल, समूह चरण थप चर्किँदै

User Image Prime TV News ३ हप्ता अगाडि
Image of आईसीसी पुरुष टी२० विश्वकप: आज तीन खेल, समूह चरण थप चर्किँदै

काठमाडौ । भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी२० विश्वकपमा आज बुधबार तीन समूहका तीन खेल हुँदै छन्।

समूह चरणको प्रतिस्पर्धा निर्णायक मोडमा पुग्दै जाँदा आजका खेलले अंकतालिकामा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ । बिहान ११ः१५ बजे ग्रुप डीमा अफगानिस्तान र दक्षिण अफ्रिका आमनेसामने हुनेछन्।

दक्षिण अफ्रिकाले पहिलो खेल जित्दै २ अंक जोडिसकेको छ भने अफगानिस्तान पहिलो खेलमा पराजित हुँदै दबाबमा छ। यस समूहमा न्युजिल्यान्ड ४ अंकसहित शीर्ष स्थानमा रहँदा अफगानिस्तान, अमेरिका र क्यानडा हालसम्म अंकविहीन छन्।

अपराह्न ३ः१५ बजे ग्रुप बीमा आयरल्यान्ड र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ। आयरल्यान्ड पहिलो खेलमा हार बेहोरेर अंकविहीन छ भने अस्ट्रेलियाले आजै प्रतियोगितामा आफ्नो अभियान सुरु गर्दैछ।

यस समूहमा जिम्बाब्वे र श्रीलंका समान २–२ अंकसहित अग्रस्थानमा रहेका छन् भने आयरल्यान्ड र ओमान अंकको खोजीमा छन्। साँझ ७ः१५ बजे नेपाल रहेको ग्रुप सीमा इंग्ल्यान्ड र वेस्ट इन्डिजबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।

इंग्ल्यान्डले पहिलो खेलमा नेपाललाई ४ रनले पराजित गर्दै २ अंक जोडेको थियो। वेस्ट इन्डिजले पनि आफ्नो पहिलो खेल जित्दै समान २ अंक हासिल गरेको छ।

दुई खेल खेलेको स्कटल्यान्ड १ जित र १ हारसहित २ अंक जोड्दै दोस्रो स्थानमा छ भने नेपाल र इटली अंकविहीन अवस्थामा छन्। आजको इंग्ल्यान्ड–वेस्ट इन्डिज खेल समूह सीको शीर्ष स्थानको समीकरणका लागि महत्वपूर्ण मानिएको छ।

समूह चरणको प्रतिस्पर्धा तीव्र बन्दै जाँदा अब हरेक खेल टोलीहरूका लागि ‘गर या मर’ जस्तै बन्दै गएको छ।