अमेरिकाको बक्यौताले संयुक्त राष्ट्र संघ गहिरो आर्थिक सङ्कटतर्फ
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । संयुक्त राष्ट्रसङ्घ (यूएन) अमेरिकाबाट अपेक्षित आर्थिक योगदान समयमै प्राप्त नहुँदा गम्भीर आर्थिक सङ्कटको सामना गरिरहेको छ।
महासचिव एन्टोनियो गुटेरेसले सदस्य राष्ट्रहरूले तोकिएको समयभित्र आफ्नो अनिवार्य शुल्क नतिरे र वित्तीय प्रणालीमा सुधार नभएमा सङ्गठनको नियमित कार्य सञ्चालन नै प्रभावित हुने कडा चेतावनी दिएका छन्।
संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूका अनुसार हाल नियमित सञ्चालन बजेटतर्फ अमेरिकाले करिब दुई अर्ब अमेरिकी डलर तिर्न बाँकी छ।
यसमा चालु वर्षका लागि करिब ७ करोड ६७ लाख डलर समेत समावेश रहेको छ। त्यस्तै, शान्ति स्थापना मिसनका लागि छुट्टै कोषमा पनि अमेरिकाको ठूलो बक्यौता रहेको बताइएको छ।
महासचिव गुटेरेसले आवश्यक रकम समयमै प्राप्त नभएमा यस वर्ष जुलाईसम्म संयुक्त राष्ट्रसङ्घको नियमित बजेट सकिने र यसले शान्ति स्थापना, मानवीय सहायता, तथा अन्य अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा गम्भीर असर पार्ने स्पष्ट पारेका छन्।
उनका अनुसार आर्थिक अभावले कर्मचारी तलब, फिल्ड मिसन, र आपतकालीन राहत कार्यक्रमसम्म प्रभावित हुन सक्ने जोखिम छ। अमेरिकी पक्षले भने आगामी केही हप्ताभित्र बाँकी रकमको आंशिक भुक्तानी गर्ने योजना रहेको जनाएको छ।
यस विषयमा महासचिव गुटेरेस र अमेरिकी प्रशासनबीच निरन्तर सम्पर्क भइरहेको संयुक्त राष्ट्रसङ्घले जानकारी दिएको छ। तर अधिकारीहरूका अनुसार आंशिक भुक्तानीले दीर्घकालीन समस्या समाधान गर्ने अवस्था छैन।
संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले नियमित बजेटको अधिकांश बक्यौता अमेरिकाकै हिस्सामा रहेको जनाउँदै हालसम्म करिब ६० सदस्य राष्ट्रले भने तोकिएको समयमै आफ्नो वार्षिक शुल्क भुक्तानी गरिसकेको बताएका छन्।













