बंगलादेशमा सुरक्षा संकटबीच आम निर्वाचन, आधाभन्दा बढी मतदान केन्द्र जोखिममा
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । शेख हसिना सरकारको पतनपछि बंगलादेशमा पहिलोपटक आम निर्वाचन हुन लागेको छ। करिब १७ करोड जनसंख्या भएको देशमा ४२ हजार मतदान केन्द्र स्थापना गरिए पनि निर्वाचन वातावरण गम्भीर सुरक्षा चुनौतीले घेरीएको छ।
बंगलादेश प्रहरी प्रमुख बहरुल आलमका अनुसार अशान्ति, हिंसा र मतपत्रमा हेरफेरको आशंकाका कारण २४ हजारभन्दा बढी मतदान केन्द्रलाई उच्च वा मध्यम जोखिमयुक्त केन्द्रका रूपमा वर्गीकृत गरिएको छ।
यो संख्या कुल मतदान केन्द्रहरूको आधाभन्दा बढी हो, जसले देशको राजनीतिक स्थायित्वमाथि गम्भीर प्रश्न उठाएको छ। स्थिति नियन्त्रणमा राख्न १ लाख ५७ हजारभन्दा बढी प्रहरी कर्मचारी मतदान सुरक्षामा खटाइने भएका छन्।
प्रहरीलाई सहयोग गर्न सेना तथा अन्य सुरक्षा निकायका करिब १ लाख जवान परिचालन गरिनेछ। यसरी ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन हुनु निर्वाचन स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न हुने विषयमा राज्य स्वयं आशंकित रहेको संकेत मानिएको छ।
यसपटक निर्वाचनमा प्रविधिको व्यापक प्रयोग गरिँदैछ। निर्वाचन आयोगको पहलमा ८० देखि ९० प्रतिशत मतदान केन्द्रमा सीसीटीभी क्यामेरा जडान गरिएको छ।
जोखिमयुक्त केन्द्रहरूमा प्रहरीले पहिलोपटक बडी क्यामेरा लगाएर गस्ती गर्नेछ भने आवश्यक स्थानमा ड्रोनमार्फत निगरानी गरिने प्रहरी प्रमुख आलमले जानकारी दिए। यस कदमको उद्देश्य निगरानी कडा बनाउने र पारदर्शिता बढाउने भनिएको छ।
निर्वाचन प्रक्रिया ११ डिसेम्बरबाट सुरु भएको थियो भने ९ फेब्रुअरीमा चुनावी प्रचार समाप्त भएको छ। तर यो अवधिमा राजनीतिक हिंसा रोकिएको छैन। प्रहरी रेकर्डअनुसार चुनावी झडपमा हालसम्म पाँच जनाको मृत्यु भएको छ भने ६ सयभन्दा बढी व्यक्ति घाइते भएका छन्।
अझै चिन्ताजनक विषय भने सन् २०२४ को अशान्तिका क्रममा प्रहरीबाट लुटिएका करिब १,३०० थान बन्दुक अझै फेला नपर्नु हो। यी हतियार पुनः हिंसामा प्रयोग हुन सक्ने जोखिम कायमै रहेको भन्दै प्रहरी नेतृत्वले गम्भीर चिन्ता व्यक्त गरेको छ।













