उच्च पदस्थलाई धम्की दिएको आरोपमा पक्राउ परेका प्रकाश पाठकलाई नेपाल ल्याइयो
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । उच्च पदस्थ व्यक्तिहरूलाई धम्की दिएको आरोपमा फिलिपिन्समा पक्राउ परेका प्रकाश पाठकलाई नेपाल ल्याइएको छ।
इन्टरपोलको समन्वय र जिल्ला प्रहरी परिसर काठमाडौंको पहलमा उनलाई बुधबार बिहान काठमाडौं अवतरण गराइएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार पाठकलाई लिन प्रहरी टोली फिलिपिन्स पुगेको थियो।
नेपाल ल्याएपछि उनलाई परिसरको हिरासतमा राखिएको छ र विद्युतीय कारोबार ऐन तथा आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। काभ्रेको तेमाल गाउँपालिका–१ घर भएका ३३ वर्षीय पाठक फिलिपिन्सको मालोलोस सहरबाट पक्राउ परेका थिए।
फिलिपिन्सको ब्यूरो अफ इमिग्रेशनले नेपाल सरकारको अनुरोध, जिल्ला अदालत काठमाडौंको पक्राउ पुर्जी तथा इन्टरपोलबाट जारी डिफ्युजन नोटिसका आधारमा उनलाई नियन्त्रणमा लिएको जनाएको थियो।
पाठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० उच्च पदस्थ व्यक्तिलाई पत्र र भिडियो सन्देशमार्फत धम्की दिएको आरोप छ। सो घटनापछि नेपाल प्रहरीले उनीविरुद्ध अनुसन्धान थालेको थियो।
प्रहरी स्रोतका अनुसार पाठक यसअघि पनि विभिन्न चार कसुरमा मुद्दा खेपिसकेका व्यक्ति हुन्। प्रहरीको क्रिमिनल रेकर्ड सिस्टममा सार्वजनिक अपराध (अभद्र व्यवहार), ठगी, आपराधिक विश्वास र आपराधिक लाभसम्बन्धी मुद्दा दर्ता भएको देखिएको छ। हाल उनीमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।













