मोरङ कारागारको शौचालयमा महिला कैदी मृत फेला, आत्महत्या आशंका
Prime TV News २ महिना अगाडि 
काठमाडाै । मोरङ जिल्ला कारागार, विराटनगरको महिला बन्दी कक्षभित्र एक महिला कैदी मृत अवस्थामा फेला परेकी छिन्। कारागार प्रशासनका अनुसार शौचालयको छतमा झुन्डिएको अवस्थामा बिहान ४ बजेतिर ती महिलाको शव फेला परेको हो।
मृतक ३२ वर्षीया राधा भट्टराई सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका–६ की बासिन्दा हुन्। कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई २० वर्ष कैद भुक्तान गरिरहेकी उनी २०८० साल माघ ५ गतेदेखि मोरङ कारागारमा थुनिएकी थिइन्।
उनलाई सुनसरी जिल्ला अदालतले २०७९ सालमा आफ्ना दुई नाबालक सन्तानसहित सप्तकोशी नहरमा हामफालेको घटनामा एक सन्तानको मृत्यु भएपछि जन्मकैदको फैसला सुनाएको थियो। उक्त घटनामा उनी र अर्को सन्तानको भने सकुशल उद्धार गरिएको थियो।
मोरङ कारागारका प्रमुख गौरव ढुङ्गेलले घटनाबारे पुष्टि गर्दै प्रारम्भिक रूपमा आत्महत्या आशंका गरिएको जानकारी दिए। यद्यपि घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।













