नेकपाले सुदूरपश्चिम प्रदेश सरकारमाथि १२ बुँदे अभियोगसहित मुख्यमन्त्रीको राजीनामा माग्यो

User Image Prime TV News ३ हप्ता अगाडि
Image of नेकपाले सुदूरपश्चिम प्रदेश सरकारमाथि १२ बुँदे अभियोगसहित मुख्यमन्त्रीको राजीनामा माग्यो

धनगढी । नेपाली कम्युनिष्ट पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई ‘चिरनिद्रामा’ रहेको आरोप लगाउँदै मुख्यमन्त्रीलाई राजीनामा दिन आग्रह गरेको छ।

नेकपाले बुधवार पत्रकार सम्मेलन गरी सरकारको दोस्रो कार्यकालको आधाभन्दा बढी समय बितिसक्दा पनि प्रदेश सरकार अस्थिर, निष्क्रिय र दिशाहीन भएको भन्दै १२ बुँदे अभियोग सार्वजनिक गरेको हो।

नेकपाका नेता खगराज भट्टले भने, “सरकारबाट अपेक्षित कामहरू केवल कछुवा गतिमा मात्र नभई कतिपय अवस्थामा पूर्ण रूपमा ठप्प देखिएका छन्। न त विकास खर्चले गति पाएको छ, न त जनताले सरकारको उपस्थिति अनुभूति गरेका छन्। यस्तो अवस्थामा नेतृत्वले सरकार चलाइरहनु प्रदेशलाई अझै पछि धकेल्ने काम हो।”

भट्टले प्राकृतिक विपत्ति, दुर्घटना र अन्य संकटमा सरकारको केवल विज्ञप्ति र राहतको घोषणा बाहेक ठोस काम नगरेको आरोप पनि लगाए। बैतडी बस दुर्घटनाको छानबिन गर्न नसकेको र भूकम्प, बाढी, पहिरो तथा आरक्ष पीडितहरूको पुनर्स्थापना प्रभावकारी नभएको बताइयो।

नेकपाले प्रदेश राजधानी कार्यान्वयनमा असफलता, कानुन निर्माणमा ढिलाइ, बजेट कार्यान्वयन कमजोर हुनु, अस्पतालमा नियुक्ति ढिला हुनु, संगठन र व्यवस्थापन सर्वेक्षण (ओएनएम) नगरेको लगायत प्रशासनिक कमजोरीहरू औँल्यायो।

साथै, नीति आयोगमा बेथिति, अपारदर्शी खर्च, सर्वोच्चको आदेश कार्यान्वयनमा आलटाल, अस्थायी कार्यालय स्थापना गरेर मनपरी खर्च गर्नु र ऐन नबनाई गठन आदेशलाई प्राथमिकता दिनु सरकारको सुशासन र पारदर्शितामा कमजोरी भएको नेकपाले ठहर गरेको छ।

नेकपाले १२ बुँदे अभियोगप्रति सरकार गम्भीर नबने जनआन्दोलनसम्मको विकल्प खुला रहने चेतावनी दिएको छ र मुख्यमन्त्रीलाई नैतिकताका आधारमा राजीनामा दिन आग्रह गरेको छ।