नेपालले आज इटालीसँग प्रतिस्पर्धा गर्दै
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । आईसीसी टी–२० पुरुष विश्वकप २०२६ अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले बिहीबार इटालीसँग प्रतिस्पर्धा गर्दैछ। खेल भारतको मुम्बईस्थित वानखेडे रंगशालामा दिउँसो ३:१५ बजे सुरु हुनेछ।
पहिलो खेलमा इंग्ल्यान्डसँग चार रनको साँघुरो हार बेहोरेको नेपाल दोस्रो खेलमा जित निकाल्दै विश्वकपको यात्रा सही दिशामा लैजाने लक्ष्यमा छ। इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको थियो।
भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेको आईसीसी टी–२० विश्वकप २०२६ मा नेपाल समूह ‘सी’मा परेको छ। यस समूहमा नेपालसँगै दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इंग्ल्यान्ड, स्कटल्यान्ड र इटाली छन्।
नेपालले यस विश्वकपका समूह चरणका सबै खेल भारतमै खेल्नेछ। समूहको तेस्रो खेल नेपालले फागुन ३ गते वेस्ट इन्डिजसँग र चौथो खेल फागुन ५ गते स्कटल्यान्डसँग खेल्ने तालिका छ।
अहिलेसम्म टी–२० विश्वकपमा जित दर्ता गर्न नसकेको नेपालका लागि इटालीविरुद्धको खेल अत्यन्त महत्वपूर्ण छ। पहिलो खेलमा स्कटल्यान्डसँग ७३ रनको ठूलो हार बेहोरेको इटाली पनि पहिलो जितको खोजीमा मैदानमा उत्रनेछ।
अंक तालिकामा वेस्ट इन्डिज चार अंकसहित शीर्ष स्थानमा छ भने स्कटल्यान्ड र इंग्ल्यान्ड समान दुई अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। नेपाल र इटाली अंकबिहीन छन्।
रोहितकुमार पौडेलको कप्तानीमा नेपाल लगातार तेस्रो पटक टी–२० विश्वकप खेल्दैछ। सोमपाल कामी तीन पटक विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन्।
नेपालले सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेलेको थियो। दोस्रो सहभागिताका लागि नेपालले १० वर्ष कुर्नुपरेको थियो। अघिल्लो संस्करणहरूमा नेपाल समूह चरणभन्दा माथि जान सकेको छैन।
यस विश्वकपमा नेपाल टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेखलगायत खेलाडी समावेश छन्।
इटाली क्रिकेटका लागि उदीयमान टोली मानिन्छ। फुटबलका लागि परिचित देश इटालीले पछिल्ला वर्षहरूमा क्रिकेटमा प्रगति गर्दै आईसीसी प्रतियोगितामा स्थान बनाएको हो।
नेपाल र इटाली दुवैका लागि यो खेल 'गर्नैपर्ने जित' को अवस्थामा रहेको छ। हारले समूह चरणको सम्भावना कमजोर बनाउने भएकाले दुवै टोली उच्च दबाबका साथ मैदानमा उत्रनेछन्।













