बंगलादेशमा रक्तपातपछि पहिलो निर्वाचन: अस्थिरताबीच सत्ता पुनःसंरचनाको प्रयास
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । सन् २०२४ मा भएको हिंसात्मक विद्रोहपछि अपदस्थ प्रधानमन्त्री शेख हसिना भारत पलायन भएको करिब एक वर्षपछि बंगलादेशमा आज पहिलोपटक आम निर्वाचन सम्पन्न हुँदै छ।
देशभर बिहानैदेखि मतदान सुरु भएको छ र स्थानीय समयअनुसार अपराह्न ४:३० बजेसम्म चल्ने निर्वाचनमा १२ करोडभन्दा बढी मतदाता सहभागी छन्।
सरकारी कर्मचारीका सन्तानलाई आरक्षण दिने नीतिविरुद्ध सुरु भएको विद्यार्थी आन्दोलन चर्कँदै जाँदा १४ सयभन्दा बढी मानिसको ज्यान गएको थियो।
यही आन्दोलनले शेख हसिनाको दशकौँ लामो शासनको अन्त्य गर्यो। अगस्ट ५, २०२४ मा हसिना हेलिकप्टरमार्फत भारत भागेकी थिइन् र हालसम्म पनि भारतकै अज्ञात स्थानमा बसिरहेको बताइन्छ।
हसिनाको पतनपछि नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा गठन भएको अन्तरिम सरकारले आजको निर्वाचन आयोजना गरेको हो। तर यो निर्वाचन सामान्य लोकतान्त्रिक अवस्थामा होइन, गहिरो राजनीतिक विभाजन, अविश्वास र हिंसाको स्मृतिबीच भइरहेको छ।
३५० सदस्यीय संसद्मध्ये ३०० सिटका लागि प्रत्यक्ष निर्वाचन भइरहेको छ। यसमा १२ करोड ७७ लाख मतदाता सूचीकृत छन्। यस पटक पहिलोपटक विदेशमा रहेका बंगलादेशी नागरिकले पनि हुलाकमार्फत मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।
अग्रपंक्तिमा देखिएको बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) सँग जमात-ए-इस्लामीको कडा प्रतिस्पर्धा छ। अवामी लिगको अनुपस्थितिले निर्वाचनको प्रतिस्पर्धात्मकता र वैधतामाथि प्रश्न उठेको छ।
बीएनपी नेतृत्वको गठबन्धनमा १० दल सहभागी छन्। यसको प्रमुख अनुहार तारिक रहमान हुन्, जो पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा हुन्। १७ वर्ष लन्डनमा निर्वासन बिताएका ६० वर्षीय रहमान हालै मात्र देश फर्किएका हुन्।
बीएनपी स्थापना उनका पिता जियाउर रहमानले गरेका थिए, जो बंगलादेश स्वतन्त्रताका बेला प्रमुख सैन्य कमान्डरमध्ये एक थिए। हसिना २००९ मा सत्तामा फर्किएपछि बीएनपी लगातार दबाबमा परेको थियो। २०१८ मा भ्रष्टाचार अभियोगमा खालिदा जिया दोषी ठहर भई नजरबन्दमा परेकी थिइन्। हसिनाको सत्ता ढलेपछि मात्रै उनी मुक्त भइन्।
आजको निर्वाचनसँगै जनमतसंग्रह पनि भइरहेको छ। अन्तरिम सरकारले आन्दोलनकारी विद्यार्थीसँग गरेको सम्झौताअनुसार संविधान संशोधन, नयाँ कानुन निर्माण र राज्य संरचनासँग सम्बन्धित विषयमा जनताको मत लिइँदै छ।













