रामेछाप बस दुर्घटनाः सहमतिपछि आन्दोलन रोकियो, उपचार र खोजी कार्य जारी

User Image Prime TV News २ हप्ता अगाडि
Image of रामेछाप बस दुर्घटनाः सहमतिपछि आन्दोलन रोकियो, उपचार र खोजी कार्य जारी

रामेछाप । रामेछापमा तीन दिनअघि भएको बस दुर्घटनापछि देखिएको विवाद अन्ततः सहमतिमा टुंगिएको छ।

ज्यान गुमाउनेका आफन्त, स्थानीय प्रशासन र अरनिको यातायात व्यवसायीबीच गएराति सहमति भएपछि पीडित परिवारले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। जिल्ला प्रशासनको पहलमा भएको वार्तापछि सहमति जुटेको बताइएको छ। सहमतिपछि तनावपूर्ण अवस्था साम्य भएको छ भने यातायात सेवा पनि क्रमशः नियमित हुने जनाइएको छ।

गत मंगलबार काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको अरनिको यातायातको बस रामेछापस्थित तामाकोसी नदीमा खस्दा १२ जनाको मृत्यु भएको थियो। दुर्घटनामा तीन जना अझै बेपत्ता रहेका छन्। सुरक्षाकर्मीले बेपत्ताको खोजी कार्य जारी राखेका छन्।

दुर्घटनामा घाइते भएका सात जनाको काठमाडौँ र काभ्रेका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घटनाको कारणबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।