त्रिभुवन विमानस्थल क्षेत्रमा निषेधाज्ञा, प्रदर्शन नगर्न प्रशासनको चेतावनी
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले बिहीबार विज्ञप्ति जारी गर्दै कुनै पनि प्रकारका जुलुस, प्रदर्शन, र्याली, भेला तथा नाराजुलुस नगर्न आग्रह गरेका छन्।
प्रशासनका अनुसार निर्वाचन आचारसंहिता लागू भइसकेको वर्तमान अवस्थामा यस्ता गतिविधि गर्न बन्देज रहेको छ। साथै, निर्वाचन विरोधी भनिएका समूहको सम्भावित घुसपैठ, आसन्न निर्वाचनको सन्दर्भ, फागुन ३ गते पर्ने महाशिवरात्रि पर्वको व्यवस्थापन तथा धार्मिक सांस्कृतिक आस्थाको सम्मानलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको जनाइएको छ।
विज्ञप्तिमा अन्तर्राष्ट्रिय विमानस्थल जस्तो संवेदनशील क्षेत्रको सुरक्षा, यात्रुहरूको सहज आवागमन तथा सार्वजनिक सडक मार्गमा यातायात सञ्चालनमा अवरोध नपुग्ने वातावरण सुनिश्चित गर्न निषेधाज्ञा जारी गरिएको उल्लेख छ। सामाजिक सञ्जालमार्फत यस्ता कार्यक्रम गर्न प्रेरित वा उक्साउने गतिविधि नगर्न पनि प्रशासनले चेतावनी दिएको छ।
प्रशासनले फागुन १ गते विमानस्थल क्षेत्रमा प्रदर्शन तथा भेलाजम्मा गर्ने भन्दै केही समूह र राजनीतिक दलबाट सामाजिक सञ्जालमार्फत सूचना जारी भएको पाइएको तर पूर्वस्वीकृति नलिइएको स्पष्ट पारेको छ। निषेधित क्षेत्रमा कानून विपरीतका गतिविधिमा संलग्न जो कोहीलाई कारबाही गरिने चेतावनी समेत दिइएको छ।
यसैबीच राप्रपा नेताहरू र दुर्गा प्रसाई लगायतले पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं फर्कंदा त्रिभुवन विमानस्थलमा स्वागत गर्ने कार्यक्रम घोषणा गरेका थिए। प्रशासनको निर्णयसँगै उक्त कार्यक्रम प्रभावित हुने देखिएको छ।














