रास्वपा नेता प्रणय शमशेर राणाको राजीनामा, आन्तरिक बेथितिमाथि गम्भीर आरोप
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता प्रणय शमशेर राणाले पार्टी सदस्यता तथा सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन्।
उनले बिहीबार महामन्त्री कबिन्द्र बुर्लाकोटीलाई सम्बोधन गर्दै पठाएको पत्रमार्फत आफू पार्टीबाट अलगिएको जानकारी गराएका हुन्। राजीनामा पत्रमा राणाले पार्टीभित्र देखिएको बेथिति, आन्तरिक प्रक्रियामा पारदर्शिताको अभाव र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।
‘सबै बेथितिका बावजुद मुकदर्शक भएर पार्टीमै रहिरहन मेरो विवेक र इमानले नमानेका कारण आजको मितिबाट राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गरेको व्यहोरा जानकारी गराउन चाहन्छु,’ उनले लेखेका छन्।
राणाले विशेषगरी प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले सञ्चालन गरेको ‘प्राइमरी इलेक्सन’ प्रक्रियामाथि प्रश्न उठाएका छन्। उनका अनुसार प्राइमरी चुनावमा सुरुदेखि नै ५० प्रतिशतसम्म चलखेलको सम्भावना राखिएको थियो। साथै, विशेष परिस्थितिको नाममा संगठनको आफ्नै नेतृत्व चयन गर्ने अधिकारसमेत सीमित गरिएको उनले दाबी गरेका छन्।
आर्थिक पक्षमा समेत उनले गम्भीर आरोप लगाएका छन्। १००० रुपैयाँ सदस्यता शुल्कबाट उठेको रकम ३०० पालिकामा पठाइने भनिए पनि त्यसबारे स्पष्टता नआएको र प्राइमरी प्रक्रियासँग सम्बन्धित ठूलो रकममा अपारदर्शिता तथा अपचलन देखिएको उनको आरोप छ।
पार्टी स्थापना गर्दा गरिएको ‘बेथितिको अन्त्य, थितिको थालनी’ भन्ने वाचा व्यवहारमा उल्टो भएको र अहिले ‘थितिको अन्त्य, बेथितिको थालनी’ जस्तो अवस्था सिर्जना भएको राणाको टिप्पणी छ। उनले केन्द्रमा बसेका पदाधिकारी तथा अधिकांश केन्द्रीय सदस्यहरू बेथितिको साझेदार बनेको आरोप लगाउँदै सीमित केही बोल्ने सदस्यहरू मात्र आवाज उठाइरहेको उल्लेख गरेका छन् ।
राणाको राजीनामापछि रास्वपाभित्रको आन्तरिक विवाद थप सतहमा आएको छ।













