न्याय पाउने आशा सम्मानित अदालतबाटै छः रवि लामिछाने
Prime TV News २ हप्ता अगाडि 
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले न्याय पाउने आशा र अपेक्षासहित जिल्ला अदालत, कास्कीमा बिहीबार तारेख बुझेका छन्। यसका लागि उनी एक दिनअघि पोखरा पुगेका थिए।
अदालतमा उपस्थित भएपछि लामिछानेले भने, “कानुनी प्रक्रिया र अदालती प्रक्रियालाई जहिले पनि सम्मान गर्नुपर्छ। न्याय पाउने आशा सम्मानित अदालतबाटै छ।” उनले पटकपटक अदालतप्रति आफ्नो विश्वास दोहोर्याउँदै, “सम्मानित अदालतमा ससम्मान झुटा मुद्दा खेप्दै, लड्दै, गुन तिर्दैछु,” बताए।
तर प्रहरी अनुसन्धान प्रक्रियाप्रति उनले असन्तुष्टि व्यक्त गरे। उनले भने, “अनुसन्धान र अभियोजन जेजस्तो भए पनि अदालतमा मेरो विश्वास र सम्मान छ। असन्तुष्टि पनि कोर्टरुममै राखिने हो। तर प्रक्रिया सघाउनुपर्छ भन्नेमा म अडिग छु।”
लामिछानेले अदालतको तारेखअनुसार आफ्नो तालिका मिलाउन खोजेको बताए। उनले भने, “मासिक रूपमा पाँच वटा अदालतमा उपस्थित हुनुपर्ने बाध्यता छ। अदालतको तारेखलाई मध्यनजर गरेर तालिका मिलाउने प्रयास गरेको छु, तर कहिलेकाही भद्रगोल हुन सक्छ।”
तारेख बुझिसकेपछि उनी चुनावी कार्यक्रमका लागि स्याङ्जा प्रस्थान गरेका छन् ।












