नेप्सेमा सुधारको संकेत, जलविद्युत शेयरमा उछालले बजारमा उत्साह

User Image Prime TV News २ हप्ता अगाडि
Image of नेप्सेमा सुधारको संकेत, जलविद्युत शेयरमा उछालले बजारमा उत्साह

काठमाडौ । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्जमा सामान्य सुधार देखिएको छ।

केही दिनदेखि लगातार दबाबमा रहेको बजारमा आज देखिएको हरियालीले लगानीकर्तामा सकारात्मक संकेत दिएको छ। नेप्से परिसूचक ८.९७ अंकले बढेर २६७१.०७ विन्दुमा पुगेको छ। यद्यपि वृद्धि ठूलो नभए पनि घट्दो ट्रेन्ड रोकिएको संकेतका रूपमा यसलाई हेरिएको छ।

कारोबार रकममा भने उल्लेखनीय सुधार देखिएको छ। अघिल्लो दिनको तुलनामा कारोबार झन्डै अढाई अर्ब रुपैयाँले बढ्दै ११ अर्ब १० करोड २५ लाख रुपैयाँ नाघेको छ। कुल ३३७ कम्पनीका २ करोड ७७ लाख ८० हजार कित्ता शेयर १ लाख ६ हजारभन्दा बढी पटक किनबेच भएका छन्। बजारमा सक्रियता बढेको संकेतस्वरूप कारोबार संख्यामा पनि मजबुती देखिएको छ।

यस दिन जलविद्युत क्षेत्रका कम्पनीहरू लगानीकर्ताको रोजाइमा परे। मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भई ३१३ रुपैयाँ ७० पैसामा बन्द भयो। रसुवागढी हाइड्रोपावर करिब १० प्रतिशतले उक्लिँदा खानी खोला हाइड्रोपावरमा पनि उल्लेखनीय वृद्धि देखियो। जलविद्युत उपसमूह समग्रमा करिब १ प्रतिशतले बढेको छ।

कारोबार रकमका आधारमा ङादी ग्रुप पावर अग्रस्थानमा रह्यो। यस कम्पनीको मात्रै ७० करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ। त्यस्तै एसवाई प्यानल नेपाल र रिडी पावरमा पनि उच्च कारोबार देखिएको छ। उपसमूहगत रूपमा हेर्दा १३ मध्ये ८ उपसमूह हरियालीमा रहे। विकास बैंक उपसमूह सर्वाधिक १.१८ प्रतिशतले बढ्दा जलविद्युत, बैंकिङलगायत अन्य केही उपसमूहमा सामान्य सुधार देखियो।

तर सबै क्षेत्रमा उत्साह देखिएन। होटल तथा पर्यटन उपसमूह १.६५ प्रतिशतले घट्दै सबैभन्दा कमजोर रह्यो। लघुवित्त, निर्जीवन बीमा, व्यापार तथा अन्य उपसमूहमा पनि सामान्य गिरावट देखिएको छ। कालिञ्चोक दर्शनको शेयरमूल्य ७.५९ प्रतिशतले घटेर दिनकै सर्वाधिक गिरावट व्यहोर्ने कम्पनी बन्यो।