निर्वाचनका लागि मतपत्र छपाइ र ढुवानी कार्य तीव्र

User Image Prime TV News २ हप्ता अगाडि
Image of निर्वाचनका लागि  मतपत्र छपाइ र ढुवानी कार्य तीव्र

काठमाडौ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ तथा ढुवानी कार्य तीव्र रूपमा अघि बढाइएको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार हालसम्म ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रका लागि आवश्यक मतपत्र छपाइ कार्य सम्पन्न भइसकेको छ।

निर्वाचन आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाले बिहीबार बिहान ८ बजेसम्म प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत एक करोड ५७ लाखभन्दा बढी मतपत्र छापिसकिएको जानकारी दिए। प्रत्यक्षतर्फ कुल दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने लक्ष्य रहेको छ।

त्यसैगरी, समानुपातिक निर्वाचन प्रणालीतर्फका सबै मतपत्र छपाइ कार्य सम्पन्न गरी जाँच समेत सकिएको र ढुवानीका लागि तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ। हालसम्म छापिएका मतपत्रमध्ये ५८ जिल्लाको प्याकिङ कार्य पूरा भई ढुवानी गर्न मिल्ने अवस्थामा राखिएको छ।

आजदेखि कर्णाली प्रदेशमा मतपत्र ढुवानी कार्य सुरु गरिएको छ। कर्णाली प्रदेशका सल्यान, रुकुम पश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेत गरी १० जिल्लामा मतपत्र ढुवानी कार्य सम्पन्न भइसकेको जनाइएको छ।

आयोगले कर्णालीसँगै सुदूरपश्चिम, कोशी लगायतका प्रदेशमा चरणबद्ध रूपमा मतपत्र पठाउने कार्ययोजना बनाएको छ। आगामी फागुन १२ गतेभित्र १६५ वटै निर्वाचन क्षेत्रमा मतपत्र पुर्‍याइसक्ने लक्ष्यसहित काम भइरहेको आयोगले स्पष्ट पारेको छ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीले दैनिक १५ लाख मतपत्र छपाइ गरिरहेको छ। आयोगले निर्धारित समयसीमाभित्र सबै निर्वाचन क्षेत्रसम्म मतपत्र सुरक्षित रूपमा पुर्‍याउने तयारीलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ।