स्पीनरको जालमा फस्यो नेपाल, इटलीविरुद्ध १२३ रनमै समेटियो

User Image Prime TV News २ हप्ता अगाडि
Image of स्पीनरको जालमा फस्यो नेपाल, इटलीविरुद्ध १२३ रनमै समेटियो

काठमाडौ । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा नेपाल इटलीविरुद्ध १२३ रनमै अलआउट भएको छ। मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १९.३ ओभरमा सबै विकेट गुमाउँदै मध्यम योगफलमा सीमित भयो।

नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए। उनले २४ बलमा ३ चौका प्रहार गरे। कप्तान रोहित पौडेलले १४ बलमा २ छक्का सहित २३ रन जोडे भने अर्का ओपनर आसिफ शेखले २० बलमा २० रन बनाए। उपकप्तान दीपेन्द्र सिंह ऐरीले १८ बलमा १७ रन बनाए पनि अन्य खेलाडीले उल्लेखनीय योगदान दिन सकेनन्।

नेपालले सुरुवातमै कुशल भुर्तेलको विकेट गुमाएको थियो। त्यसपछि रोहित र आसिफले दोस्रो विकेटका लागि ४१ रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरे। तर टोलीको स्कोर ४९ रन पुग्दा दुवै सेट ब्याट्सम्यान आउट भएपछि नेपाल दबाबमा परेको थियो।

मध्यक्रममा दीपेन्द्र र आरिफले चौथो विकेटका लागि ४४ रनको साझेदारी गर्दै इनिङ्स उकास्ने प्रयास गरे। तर नियमित अन्तरालमा विकेट झर्दा नेपाल ठूलो स्कोरतर्फ अघि बढ्न सकेन। पहिलो खेलमा आक्रामक प्रदर्शन गरेका लोकेश बम यसपटक ५ बलमा ३ रनमै समेटिए। अन्त्यतिर करण केसी र सन्दीप लामिछानेले नवौँ विकेटका लागि २१ रन जोड्दै संघर्ष देखाए पनि नेपाल पूरा २० ओभर खेल्न सकेन।

इटलीका स्पीनरहरूले उत्कृष्ट बलिङ गर्दै नेपाललाई दबाबमा राखे। लेगस्पीनर क्रिसन कालुगमागेले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए। अफ ब्रेक बलर बेन्जामिन मानेन्टीले ४ ओभरमा मात्र ९ रन दिँदै २ विकेट लिए। जेजे स्मट्सले १ विकेट थपे। स्पीनरहरूले मिलेर ६ विकेट हात पारे। पेसर अली हसन र जसप्रित अलीले समान १–१ विकेट लिए भने एक विकेट रनआउटमार्फत् प्राप्त भयो।

नियमित कप्तान वायन म्याडसन घाइते भएपछि ह्यारी मानेन्टीले इटलीको कप्तानी सम्हालेका छन्। नेपाल पहिलो खेलमा इंग्ल्याण्डसँग ४ रनले पराजित भएको थियो भने इटली स्कटल्याण्डसँग हारेको थियो। दुवै टोली प्रतियोगितामा पहिलो जितको खोजीमा रहेका छन्।

सन् २०१४ मा विश्वकप डेब्यु गर्दा दुई खेल जितेको नेपाल त्यसयता जितविहीन छ र १२ वर्षपछि ऐतिहासिक जित निकाल्ने लक्ष्यमा मैदान उत्रिएको छ। इटली भने यसै संस्करणबाट विश्वकपमा डेब्यु गर्दै पहिलो जितको प्रतीक्षामा छ।