दुर्गा प्रसाईले नयाँ राजनीतिक शक्ति र विदेशी हस्तक्षेपको आरोप लगाउँदै राजा ज्ञानेन्द्रलाई स्वागतको अपिल

User Image Prime TV News २ हप्ता अगाडि
Image of दुर्गा प्रसाईले नयाँ राजनीतिक शक्ति र विदेशी हस्तक्षेपको आरोप लगाउँदै राजा ज्ञानेन्द्रलाई स्वागतको अपिल

काठमाडौ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले देशमा नयाँ राजनीतिक शक्ति उदाउने क्रममा विदेशी हस्तक्षेप भएको आरोप लगाएका छन्।

बिहीबार पत्रकार सम्मेलनमा प्रसाईंले काठमाडौं महानगरका मेयर बालेन शाह, रास्वपा सभापति रवि लामिछाने, र कांग्रेस महामन्त्री गगन थापालाई पश्चिमी शक्तिको एजेन्टको संज्ञा दिँदै नेपाललाई युक्रेन जस्तो संकटमा धकेल्ने प्रयास भइरहेको दाबी गरेका छन्।

उनीले नेपालमा ‘नेसनल इन्डोमेन्ट फर डेमोक्रेसी’ मार्फत पश्चिमी देशहरूको नाङ्गो हस्तक्षेप भइरहेको जिकिर गर्दै, बालेन र रवि जस्ता युवा नेताहरूलाई विदेशी फन्डिङ र सामाजिक सञ्जालको प्रभावमा परिचालित भएको आरोप लगाए।

प्रसाईंले आफ्नो भनाइमा सन् २०१३–१४ देखि नेपालमा ‘फ्री तिब्बत’ एजेन्डा स्थापित गर्न पश्चिमी लगानी भइरहेको र अहिलेका नयाँ राजनीतिक दलहरूलाई प्रयोग गरेर नेपालको हिमाली क्षेत्रमा नयाँ दलाई लामा जन्माउने योजना बनिरहेको आरोप पनि गरे।

उनी आगामी फागुन १ गते राजा ज्ञानेन्द्रलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित हुन समर्थकहरूलाई अपिल गर्दै प्रशासन र प्रहरीलाई चुनौती दिए। उनले भने, “राजा आउने कुरामा निषेध गर्ने को हो? यदि दम छ भने राजालाई हतकडी लगाएर देखाऊ।”

यसैबीच, प्रसाईंले पुराना दलका नेताहरू केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्डलाई पनि हिन्दु राष्ट्र र राजसंस्था स्वीकार्न आह्वान गरे। उनले भने, “देश संकटमा छ, अब राजा बोक्ने, देश बोक्ने र धर्म बोक्नेहरू एक ठाउँमा उभिनुपर्छ।”

प्रसाईंले हालको निर्वाचन प्रणालीलाई पनि विदेशी शक्तिको सञ्जालमा आधारित भन्दै त्यसको कुनै औचित्य नभएको दाबी गरे। उनले ९० प्रतिशत जनतालाई चुनाव नचाहिएको र यो केवल सत्ता कब्जाका लागि प्रयोग गरिएको प्रपञ्च भएको बताए।

अन्तमा, उनले आफ्नो आन्दोलनले बैंकको ब्याजदर १६ प्रतिशतबाट ६ प्रतिशतमा झारेको उदाहरण दिँदै व्यापारी र सर्वसाधारणलाई समर्थन गर्न आग्रह गरे।