काठमाडौं महानगर कार्यसम्पादनमा सबैभन्दा पछाडि, विराटनगर अब्बल
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले २०८१/८२ का लागि गरेको महानगरपालिकाहरूको कार्यसम्पादन मूल्यांकनमा काठमाडौं महानगरपालिका सबैभन्दा कमजोर रहेको पाइएको छ। मूल्यांकनका १७ वटा सूचकका आधारमा काठमाडौंले ४४.९७ अंक मात्र प्राप्त गर्न सकेको छ।
देशभरिका ६ महानगरपालिकामध्ये मोरङको विराटनगर सबैभन्दा अब्बल रहेको छ। विराटनगरले ७८.११ अंक प्राप्त गरी पहिलो स्थानमा रह्यो। दोस्रो स्थानमा ललितपुर (७६.३३ अंक), तेस्रोमा चितवनको भरतपुर (६८.०४ अंक), चौथोमा पोखरा (५८.७६ अंक), पाँचौंमा वीरगञ्ज (५४ अंक) रहेका छन्।
आयोगका अनुसार मूल्यांकनमा बजेट सार्वजनिक गर्ने र पास गर्ने समय, राजस्व सङ्कलन, प्रदेश सरकारमा रकम बुझाउने, बजेट प्रक्षेपण तथा समिक्षा, राजस्व परिचालन, बजेट खर्च अवस्था, बेरुजु, सूत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, गर्भ जाँच गर्ने महिला अनुपात, एसईई परीक्षा नतिजा र खोप लगाएका बालबालिकाको अनुपातजस्ता १७ वटा सूचकको आधारमा महानगरपालिकाको कार्यसम्पादन मापन गरिएको हो।
विशेषज्ञहरूले काठमाडौंको कम अंकको मुख्य कारणमा बजेट समयमै पास नगर्नु, राजस्व व्यवस्थापनमा कमजोरी र सामाजिक-शैक्षिक सूचकहरूमा अपेक्षित परिणाम नआउनु रहेको बताएका छन्। आयोगका अनुसार देशभरि ८० अंकभन्दा माथि अंक प्राप्त गर्ने स्थानीय तह केवल ४ वटा मात्र छन्, जुन अधिकांश पश्चिम नेपालको क्षेत्रका हुन्।












