निर्वाचन राष्ट्र रक्षा र स्वाधीनताको लडाइँः प्रचण्ड
Prime TV News २ हप्ता अगाडि 
बागलुङ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान निर्वाचनलाई राष्ट्रको सुरक्षा र स्वाधीनताको पक्षमा उभिनु पर्ने असाधारण अवसरका रूपमा व्याख्या गरेका छन् ।
बागलुङको बुर्तिबाङमा जनता, मतदाता तथा नेताहरूसँग संवाद गर्दै प्रचण्डले भने, राजनीतिक दल र जनताले २०८४ सालमा निर्वाचन चाहेको भए पनि अहिलेको निर्वाचन बाध्यात्मक परिस्थितिका कारण हुन पुगेको हो।
उनले भदौ २३–२४ गतेका घटनालाई स्मरण गर्दै ती दिनहरूमा देशमा गम्भीर अस्थिरता सिर्जना भएको र आफू तथा सहसंयोजक माधव नेपालले विवेकपूर्ण पहलमार्फत संकट टार्न सफल भएको बताए। उनले थपे, “त्यो घटनाको उद्देश्य केवल जलाउने र लुट्ने मात्र थिएन, राष्ट्रपतिलाई हटाएर देशमा कठपुतली सरकार बनाउने योजना थियो। त्यसबाट संविधान केही हदसम्म ‘घाइते’ भएको थियो।”
प्रचण्डले यस निर्वाचनलाई विदेशी हस्तक्षेपको खतराप्रति सचेत हुँदै, राष्ट्रवादी शक्ति बलियो बनाउने लडाइँ भएको बताए। उनले भने, “२४–२६ गतेसम्म राज्य कसले चलायो भन्ने प्रश्न उठेको थियो। अब यो निर्वाचन जनताको नेतृत्व कायम गर्ने अवसर हो।”
विश्व राजनीति नयाँ चरणमा प्रवेश गरेको र सानो देश नेपाल पनि ठूला शक्तिको प्रतिस्पर्धाको केन्द्र बन्न सक्ने खतरा रहेको उल्लेख गर्दै उनले विदेशी हस्तक्षेपबाट देशको भूगोल र स्रोतको दुरुपयोग हुन नदिन जनता सचेत रहोस् भने।
प्रचण्डले युक्रेन र भेनेजुएलाका घटनाहरू उदाहरण दिँदै चेतावनी दिए, “साँढेको जुधाई, बाच्छाको मिचाई नहोस् भन्ने हाम्रो लक्ष्य हो।”













