ओली झापा–५ बाट काठमाडौँ फर्किए, एमालेले सुकुम्वासी मुद्दामा विरोधीमाथि भ्रम फैलाएको आरोप
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेका अध्यक्ष तथा झापा क्षेत्र नं ५ का उम्मेदवार केपी शर्मा ओली एक साता लामो क्षेत्रीय भ्रमणपछि बिहीबार काठमाडौँ फर्किएका छन्।
भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले आफूले मतदाताबाट उल्लेखनीय माया र विश्वास पाएको प्रतिक्रिया दिएका छन्।
झापामा रहँदा मतदाताले विकास योजना, अधुरा आयोजना र स्थानीय समस्याबारे जानकारी गराएको तथा क्षेत्रमा नियमित भेटघाट हुने कार्यक्रम राख्न सुझाव दिएको ओलीको भनाइ छ।
उनी भद्रपुर–१ स्थित हिमालीमा आगलागीबाट क्षति भएको आफ्ना बुबाको घरसमेत अवलोकन गरी काठमाडौँ फर्किएका हुन्। ओली फागुन ३ गते पुनः झापा फर्किने कार्यक्रम रहेको एमालेले जनाएको छ।
एमाले निर्वाचन प्रचार उपसमितिका संयोजक एवं केन्द्रीय सदस्य इन्द्र भण्डारीका अनुसार पार्टीको चुनावी घोषणापत्रलाई अन्तिम रूप दिएपछि ओली पुनः झापा जानेछन्। ओली पछिल्लो समय निर्वाचनलाई लक्षित गर्दै झापा क्षेत्र नं ५ मा केन्द्रित गतिविधि गरिरहेका छन्।
यसैबीच एमालेले सुकुम्वासी मुद्दालाई लिएर विरोधी शक्तिहरूले गाउँ–गाउँमा भ्रम फैलाएको आरोप लगाएको छ। एमाले केन्द्रीय सदस्य तथा झापा क्षेत्र नं ५ का निर्वाचन परिचालन समिति संयोजक देवेन्द्र दाहालले काठमाडौँमा सुकुम्वासी बस्तीमा डोजर चलाउने समूहले झापामा आएर समस्या समाधान गर्छौँ भन्नु भ्रमपूर्ण र अविश्वसनीय भएको टिप्पणी गरेका छन्।
दमकमा बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा दाहालले राष्ट्रियता संरक्षण, पूर्वाधार विकास र आर्थिक समृद्धिका लागि एमालेको जित अपरिहार्य रहेको दाबी गरे। उनले एमाले जनताका प्रश्नबाट नभाग्ने पार्टी भएको भन्दै खुला छलफल र जवाफदेहितामा पार्टी प्रतिबद्ध रहेको बताए।
दाहालले नाकाबन्दीको समयमा ओली नेतृत्वको सरकारले निर्वाह गरेको भूमिका तथा लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्सा सार्वजनिक गर्नुले ओलीको राजनीतिक हैसियत उचो बनाएको दाबी गरे।
उनले वर्तमान सरकारलाई विकास विरोधी भन्दै अघिल्लो सरकारले अघि सारेका बजेट र योजनाहरू कटौती तथा रोक्का गरेर विकासको बाटो अवरुद्ध गरिएको आरोप लगाए।












