कांग्रेस जनताको भरोसा जित्दै पहिलो दल बन्ने दिशामा छ : विश्वप्रकाश शर्मा
Prime TV News २ हप्ता अगाडि 
रुपन्देही । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनपछि कांग्रेस पार्टी देशको सबैभन्दा ठूलो दलका रूपमा उदाउने दाबी गरेका छन्। देशका विभिन्न जिल्लामा गरिएको पार्टीगत गतिविधि, मतदातासँगको भेटघाट र प्राप्त सूचनाले कांग्रेस पहिलो दल बन्ने संकेत दिएको उनले बताए। कांग्रेस रुपन्देहीले भैरहवामा आयोजना गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत पार्टी सदस्य भेटघाट कार्यक्रममा बोल्दै उपसभापति शर्माले कांग्रेसले आत्मसमीक्षा गरेर आफूलाई बदलेको र यही परिवर्तनले जनताको भरोसा फर्किन थालेको दाबी गरे। उनले कांग्रेस बहुमतको दिशातर्फ उन्मुख भइसकेको उल्लेख गर्दै पुनः देशको नेतृत्व गर्ने अवस्थामा पुगेको बताए। शर्माले वर्तमान राजनीतिक अवस्थाप्रति जनतामा गहिरो निराशा र आक्रोश रहेको उल्लेख गरे। देशमा विश्वास टुटेको, मन जलेको र नागरिकको मनोबल कमजोर बनेको अवस्थामा अब पुरानै शैलीको राजनीति स्वीकार्य नहुने उनको भनाइ थियो। उनले जेनजी पुस्ताको असन्तोषलाई स्वाभाविक प्रतिक्रिया भन्दै यसलाई केवल विरोधको रूपमा होइन, परिवर्तनको खोजीका रूपमा बुझ्नुपर्ने बताए। ‘नयाँ र पुरानो भन्ने कुरा उमेर वा जन्ममितिले तय हुँदैन,’ शर्माले भने, ‘सोच, दृष्टिकोण र नेतृत्व बदलिनु नै वास्तविक नयाँपन हो।’ उनले कांग्रेस यही सोच र नेतृत्वको परिवर्तनसहित जनतामाझ गएको दाबी गरे। उनका अनुसार जेनजी विद्रोहले देशमा सुधार र रूपान्तरणको माग स्पष्ट रूपमा उठाएको छ। संसार बदल्न चाहनेले पहिले आफूबाटै परिवर्तनको सुरुवात गर्नुपर्ने उल्लेख गर्दै शर्माले कांग्रेसले यही बाटो समातेको र त्यसकै परिणामस्वरूप पार्टी पुनः जनताको भरोसाको केन्द्र बन्दै गएको दाबी गरे।













