टी–२० विश्वकपमा नेपालको निराशाजनक प्रदर्शन, इटालीसँग १० विकेटको लज्जास्पद हार
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । टी–२० विश्वकप क्रिकेटमा नेपालले निरन्तर कमजोर प्रदर्शन दोहोर्याउँदै लगातार दोस्रो हार व्यहोरेको छ।
मुम्बईको वानखेडे मैदानमा भएको खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भयो। इंग्ल्यान्डविरुद्ध संघर्ष देखाएको नेपालले इटालीविरुद्ध भने पूर्ण रूपमा आत्मसमर्पणजस्तै खेल प्रदर्शन गर्यो।
टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १९.३ ओभरमा मात्र १२३ रनमा अलआउट भयो। ब्याटिङ क्रम एकपटक फेरि असफल देखियो। आरिफ शेखले सर्वाधिक २७ रन बनाउँदा कप्तान रोहित पौडेलले २३ रन जोडे।
आसिफ शेख (२०), दीपेन्द्र सिंह ऐरी (१७) र करण केसी (१८) बाहेक अन्य ब्याट्सम्यानले कुनै योगदान दिन सकेनन्। शीर्ष क्रम पूर्ण रूपमा ध्वस्त भयो, जसले नेपालको इनिङ सुरु नहुँदै दबाबमा पर्यो।
इटालीका बलरहरूले कुनै अतिरिक्त मेहनत नगरी नेपाली ब्याट्सम्यानलाई गल्ती गर्न बाध्य पारे। क्रिसन कलुगामागेले तीन विकेट लिए भने बेन मनेन्टीले दुई विकेट हात पारे। बाँकी बलरहरूले पनि कसीएको बलिङ गर्दै नेपाललाई सामान्य स्कोरमै रोक्न सफल भए।
१२४ रनको लक्ष्य पछ्याएको इटालीले १२.४ ओभरमै कुनै पनि विकेट नगुमाई जित हासिल गर्यो। जस्टिन मोस्का र एन्थोनी मोस्काले नेपाली बलिङलाई मजाकझैँ बनाउँदै सहज साझेदारी गरे। जस्टिन ६० र एन्थोनी ६२ रनमा अविजित रहे। नेपालका बलरहरू न धारिला देखिए, न योजनाबद्ध एक विकेट पनि लिन सकेनन्।
यसअघि नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो भने इटाली स्कटल्यान्डसँग ठूलो अन्तरले हारेको थियो। यो जितसँगै विश्वकपमा डेब्यु गरेको इटालीले पहिलो जित दर्ता गर्यो भने नेपालका लागि ‘सुपर एट’ पुग्ने सम्भावना लगभग औपचारिकतामा सीमित बनेको छ।













