बंगलादेशको संसदीय चुनावमा बीएनपीको स्पष्ट जित, तारिक रहमान नेतृत्वको सरकार बन्ने बाटो खुल्यो

User Image Prime TV News २ हप्ता अगाडि
Image of बंगलादेशको संसदीय चुनावमा बीएनपीको स्पष्ट जित, तारिक रहमान नेतृत्वको सरकार बन्ने बाटो खुल्यो

काठमाडौ । बंगलादेशमा बिहीबार सम्पन्न संसदीय चुनावबाट स्पष्ट सत्ता परिवर्तन भएको छ।

बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) ले २९९ सिटमध्ये १६५ सिट जित्दै बहुमत हासिल गरेको छ। यससँगै बीएनपी अध्यक्ष तारिक रहमानको नेतृत्वमा नयाँ सरकार गठन हुने लगभग निश्चित भएको छ।

पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान दुई निर्वाचन क्षेत्रमा उम्मेदवार बनेका थिए र दुवै सिटमा विजयी भएका छन्। १७ वर्षसम्म बेलायतमा निर्वासित जीवन बिताएका रहमान हालै मात्र स्वदेश फर्किएका थिए। उनको जितलाई बीएनपीको मात्र होइन, बंगलादेशको राजनीतिक पुनर्संरचनाको संकेतका रूपमा हेरिएको छ।

जमात-ए-इस्लामीको नेतृत्वमा रहेको ११ दलीय गठबन्धनले अहिलेसम्म ४५ सिटमा मात्र जित हात पारेको छ। जमात प्रमुख सिफुकर रहमान ढाका १५ बाट निर्वाचित भएका छन्। अन्य दल र स्वतन्त्र उम्मेदवारहरूले तीन सिट जितेका छन्।

सन् १९९१ देखि २०२४ सम्म आलोपालो सत्ता चलाउँदै आएका पूर्वप्रधानमन्त्री शेख हसिना भारत पलायन भएपछि र खालिदा जियाको निधनपछि बंगलादेशमा पहिलोपटक यस्तो चुनाव भएको हो। यही निर्वाचनबाट देशले ३५ वर्षपछि नयाँ प्रधानमन्त्री पाउने निश्चित भएको छ।

देशभरका करिब ३६ हजार मतदान केन्द्रमा मतदान भए पनि चुनाव हिंसामुक्त भने रहेन। खुलनास्थित एक मतदान केन्द्र बाहिर जमात-ए-इस्लामीका कार्यकर्तासँगको झडपमा बीएनपी नेता मोहिबुज्जमान कोचीको मृत्यु भएको छ। यस्तै गोपालगन्ज सदर क्षेत्रमा भएको विस्फोटमा तीन जना घाइते भएका छन्।

मतदानपछि अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले ‘नयाँ बंगलादेशको सुरुवात’ भएको टिप्पणी गरेका छन्। तर शेख हसिनाले चुनावलाई धाँधलीपूर्ण भन्दै अस्वीकार गरेकी छन्।

उनले निर्वाचन रद्द गर्न र अन्तरिम सरकारको राजीनामा मागेकी छन्। यस चुनावमा हसिनाको पार्टी अवामी लिगलाई सहभागी हुन प्रतिबन्ध लगाइएको थियो।

उल्लेखनीय छ, १४ सयभन्दा बढीको ज्यान जाने विद्यार्थी आन्दोलन नियन्त्रण गर्न नसकेपछि शेख हसिना सन् २०२४ अगस्ट ५ मा हेलिकप्टरमार्फत भारत पलायन भएकी थिइन् र हाल पनि उतै छन्।