जनयुद्ध दिवसमा प्रचण्डको आह्वान : राष्ट्रिय संकट समाधानका लागि सबै शक्ति एक हुनुपर्छ
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ३१औँ जनयुद्ध दिवसका अवसरमा रुकुमपूर्वबाट शुभकामना सन्देश जारी गरेका छन्।
जनयुद्धको आधार इलाका मानिने रुकुमपूर्वबाट सामाजिक सञ्जालमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै उनले सहिदहरूप्रति श्रद्धाञ्जली र घाइतेहरूप्रति सम्मान व्यक्त गरेका हुन्।
प्रचण्डले हाल देशमा देखिएको राजनीतिक र सामाजिक संकटको सन्दर्भ उठाउँदै जेनजी आन्दोलनले मुलुकमा नयाँ परिस्थिति सिर्जना गरेको बताएका छन्। उनले विध्वंश र अस्थिरताबाट उत्पन्न संकट समाधानका लागि सबै राष्ट्रिय राजनीतिक शक्तिहरू एक ठाउँमा उभिनुपर्ने स्पष्ट धारणा राखे।
उनले निर्वाचनमार्फत सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा सुरु गर्नुपर्नेमा जोड दिँदै राजनीतिक दलहरूलाई जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गरेका छन्।
सन्देशमा प्रचण्डले प्रतिनिधिसभा निर्वाचनका लागि आफू रुकुमपूर्वबाट उम्मेदवार बन्दै गर्दा गर्वसँगै ठूलो जिम्मेवारी बोध भएको उल्लेख गरे। जनयुद्धबाट उदाएको राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै देशलाई स्थायित्वतर्फ लैजानुपर्ने दायित्व आफ्नो काँधमा रहेको उनले बताए।
जनयुद्ध दिवसको सन्देशमार्फत प्रचण्डले इतिहासको स्मरण मात्र होइन, वर्तमान संकटको समाधानका लागि स्पष्ट राजनीतिक लाइन प्रस्तुत गरेका छन्।













