राजावादी प्रदर्शनको सम्भावनालाई मध्यनजर गर्दै काठमाडौंमा सुरक्षा व्यवस्था कडा
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । काठमाडौंमा राजावादी समूहको सम्भावित प्रदर्शनलाई ध्यानमा राख्दै नेपाल प्रहरी ले शुक्रबार बिहानैदेखि सुरक्षा व्यवस्था कडा बनाएको छ।
राजधानीका मुख्य सडक, चोक तथा संवेदनशील क्षेत्रमा नियमित गस्ती बढाइएको छ भने आवश्यक परे तत्काल परिचालन गर्न थप प्रहरी टोली स्ट्याण्डबाइमा राखिएको छ।
जिल्ला प्रहरी परिसरका अनुसार, कुनै पनि किसिमको अराजक गतिविधि हुन नदिन विभिन्न गण, गुल्म र कार्यालयका प्रहरी टोलीलाई तयारी अवस्थामा राखिएको छ। प्रहरीले शान्ति सुरक्षामा खलल पुग्ने संकेत देखिए तुरुन्तै हस्तक्षेप गर्ने स्पष्ट पारेको छ।
राजावादी समूहले दिउँसो १२ बजेपछि पूर्वराजा ज्ञानेन्द्र शाह को स्वागत कार्यक्रम गर्ने घोषणा गरेपछि काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सुरक्षा सतर्कता बढाइएको छ। विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनलमा प्रवेश गर्ने यात्रु तथा आगन्तुकको कडाइका साथ चेकजाँच भइरहेको छ।
विमानस्थल सुरक्षा प्रमुखका अनुसार, चेकजाँच प्रक्रिया नियमित कार्यकै हिस्सा भए पनि वर्तमान अवस्थालाई ध्यानमा राख्दै थप सतर्कता अपनाइएको हो। सुरक्षाकर्मीले कुनै पनि अप्रिय घटना हुन नदिन निगरानी बढाएका छन्।
प्रहरी प्रशासनले आम नागरिकलाई अफवाहको पछि नलाग्न र सुरक्षाकर्मीको काममा सहयोग गर्न आग्रह गरेको छ। शान्तिपूर्ण गतिविधि स्वीकार्य भए पनि कानून हातमा लिने प्रयास भए कडा कारबाही गरिने चेतावनी प्रहरीले दिएको छ ।












