दक्षिण एसियामा अमेरिकी सक्रियता बढ्ने संकेत, अमेरिकाले भन्यो अबको निर्वाचन नेपाल–बंगलादेशलाई “नयाँ अवसर”

User Image Prime TV News २ हप्ता अगाडि
Image of दक्षिण एसियामा अमेरिकी सक्रियता बढ्ने संकेत, अमेरिकाले भन्यो अबको निर्वाचन नेपाल–बंगलादेशलाई “नयाँ अवसर”

काठमाडौ । अमेरिकी कङ्ग्रेसका सदस्य  बिल हुइजेन्गाले नेपाल र बंगलादेशका पछिल्ला राजनीतिक परिवर्तनलाई दक्षिण एसियामा अमेरिकी संलग्नता विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरेका छन्।

विहीबार अमेरिकी कङ्ग्रेसको दक्षिण तथा मध्य एसिया उपसमितिमा आयोजित सुनुवाइको उद्घाटन सत्रमा बोल्दै उनले दुवै देश हाल राजनीतिक संक्रमणको प्रक्रियाबाट गुज्रिरहेको बताए। युवा–नेतृत्वको विद्रोहपछि सरकार परिवर्तन भएका नेपाल र बंगलादेशमा अब हुने वा भइसकेका निर्वाचनले नयाँ अध्याय सुरु गरेको उनको भनाइ थियो।

“यी घटनाहरूले दक्षिण एसियामा संलग्नताका लागि नयाँ ढोका खोलेका छन्, जसले नयाँ सरकारहरूसँगको अमेरिकी सम्बन्ध परिभाषित गर्नेछ,” उनले भने। हुइजेन्गाले दक्षिण एसियालाई करिब दुई अर्ब जनसङ्ख्या भएको गतिशील क्षेत्रका रूपमा चित्रण गर्दै इन्डो–प्यासिफिक रणनीतिमा यसको विशेष महत्त्व रहेको बताए।

उनका अनुसार हिन्द महासागर विश्वव्यापी व्यापार र ऊर्जाको प्रमुख मार्ग हो, जहाँबाट विश्वको ठूलो हिस्सा समुद्री तेल ढुवानी हुन्छ। उनले स्वतन्त्र र खुला हिन्द महासागर कायम राख्नु अमेरिकाको राष्ट्रिय तथा आर्थिक सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय भएको उल्लेख गरे।

सुनुवाइका क्रममा उनले चीनले दक्षिण एसियामा आफ्नो प्रभाव विस्तार गर्न पूर्वाधार र सीमाक्षेत्र सुदृढीकरण गरिरहेको दाबी गरे। साना राष्ट्रहरूलाई ‘ऋणको पासो’मा पार्ने नीतिमार्फत चीनले आफ्नो सुरक्षा स्वार्थ अघि बढाइरहेको उनको आरोप थियो। उनका अनुसार साझेदार राष्ट्रहरूसँग समुद्री तथा रक्षा सहकार्य सुदृढ पारेर चीनको बढ्दो प्रभावलाई सन्तुलनमा राख्न सकिन्छ।

हुइजेन्गाले इन्डिनलाई अमेरिकाको प्रमुख रणनीतिक साझेदारका रूपमा उल्लेख गरे। उनले राष्ट्रपति ट्रम्पको कार्यकालमा भारतसँग व्यापार तथा ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण समझदारी भएको दाबी गरे। रक्षा सहयोग, व्यापार र प्रविधि साझेदारीमार्फत नयाँ दिल्लीसँगको सम्बन्ध अझ सुदृढ बनाउनेतर्फ अमेरिका प्रतिबद्ध रहेको उनले बताए।