शान्तिपूर्ण निर्वाचनको कामनासहित पाथीभराबाट प्रधानमन्त्रीको औपचारिक सुरुआत
Prime TV News २ हप्ता अगाडि 
ताप्लेजुङ । आसन्न निर्वाचनको तयारी तीव्र भइरहेका बेला प्रधानमन्त्री सुशीला कार्कीले पूर्वी पहाडी जिल्ला ताप्लेजुङ पुगेर प्रसिद्ध धार्मिक स्थल पाथिभारामा दर्शन तथा विशेष पूजा अर्चना गरेकी छन्।
निर्वाचनको तयारी र जिल्लाको शान्ति सुरक्षा अवस्थाबारे स्थलगत जानकारी लिन पुगेकी प्रधानमन्त्री कार्की बिहीबार बिहानै पाथीभरा मन्दिर चढेकी हुन्। दर्शनपछि उनले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै फागुन महिनालाई निर्वाचनको महत्त्वपूर्ण समयका रूपमा उल्लेख गरिन्। “फागुन महिना, निर्वाचन महिना। पाथीभराबाट सुरुआत। शान्तिपूर्ण निर्वाचनका लागि कामना,” उनले लेखेकी छन्।
प्रधानमन्त्रीको यो भ्रमणलाई निर्वाचनपूर्व वातावरणलाई सकारात्मक सन्देश दिने प्रयासका रूपमा हेरिएको छ। पाथीभरा मन्दिर पूर्वी नेपालकै महत्वपूर्ण शक्तिपीठमध्ये एक मानिन्छ र राजनीतिक तथा सामाजिक रूपमा पनि प्रतीकात्मक महत्व राख्छ।
भ्रमणका क्रममा प्रधानमन्त्री कार्कीले जिल्लास्थित सुरक्षा निकायका प्रमुख, मुख्य निर्वाचन अधिकृत तथा निर्वाचनमा खटिएका अधिकारीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भेटमा निर्वाचन सुरक्षाको तयारी, आवश्यक समन्वय र सम्भावित चुनौतीबारे छलफल हुने जनाइएको छ।
सरकारले आगामी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा व्यवस्था सुदृढ पारिएको जनाएको छ। प्रधानमन्त्रीको ताप्लेजुङ भ्रमणलाई निर्वाचनअघि स्थानीय प्रशासन र सुरक्षा संयन्त्रलाई थप सक्रिय र सचेत बनाउने सन्देशका रूपमा समेत विश्लेषण गरिएको छ।













