‘आइडिया मञ्च’ घोषणा : चार दलको संयुक्त पहल, १२ क्षेत्रमा उम्मेदवार

User Image Prime TV News २ हप्ता अगाडि
Image of ‘आइडिया मञ्च’ घोषणा : चार दलको संयुक्त पहल, १२ क्षेत्रमा उम्मेदवार

काठमाडौ । आगामी प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा चार राजनीतिक शक्तिहरूले संयुक्त रूपमा ‘आइडिया मञ्च’ नामक नयाँ राजनीतिक गठबन्धन घोषणा गरेका छन्।

पिपुल फर्स्ट पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, समावेशी समाजवादी पार्टी र दलित गोलमेच सम्मेलनबीच २०८२ माघ २७ गते भएको आपसी समझदारीपछि मञ्च औपचारिक रूपमा गठन गरिएको जनाइएको छ।

मञ्चले आफूलाई विद्यमान दलहरूको विकल्पका रूपमा प्रस्तुत गर्दै ‘समावेशी, लोकतान्त्रिक, नैतिक विकल्प’ को नारासहित अघि बढ्ने जनाएको छ। जारी विज्ञप्तिमा २०८२ भदौ २३–२४ मा भएको ‘जेनजी आन्दोलन’ ले उठाएका मागहरू अझै सम्बोधन नभएको र निहत्था युवाहरूको हत्यामा कसैलाई जिम्मेवार नठहराइएकोप्रति गम्भीर असन्तुष्टि व्यक्त गरिएको छ।

पुराना दलहरू तथा आन्दोलनलाई ‘हाइज्याक’ गर्ने केही नयाँ शक्तिहरूलाई समेत चुनौती दिँदै मञ्चले आफूलाई ‘तेस्रो राजनीतिक ध्रुव’ का रूपमा स्थापित गर्ने लक्ष्य राखेको जनाएको छ। आसन्न निर्वाचनमा देशभरका १२ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा उम्मेदवार उठाइएको जानकारी दिँदै मञ्चले ती उम्मेदवारहरूको पक्षमा संयुक्त रूपमा प्रचारप्रसार गर्ने तयारी गरेको जनाएको छ।

निर्वाचन तयारीका लागि समय सीमित रहेको स्वीकार गर्दै पनि मञ्चले संसद बाहिर रहेर ‘वास्तविक विपक्ष’ को भूमिका निर्वाह गर्ने र आगामी प्रदेश तथा स्थानीय तह निर्वाचनमा सशक्त रूपमा प्रस्तुत हुने रणनीति लिएको उल्लेख छ।

विज्ञप्तिमा भ्रष्टाचारका मुद्दाहरूको छिनोफानो नभएको, निहत्था युवामाथि दमन र हत्याका घटनामा कसैलाई जिम्मेवार नठहराइएको तथा ऐतिहासिक धरोहरमा आगजनी र कैदी भगाउने घटनामा संलग्न व्यक्तिहरूको पहिचान स्पष्ट नभएको आरोप लगाइएको छ। यस्ता घटनामा संलग्न व्यक्तिहरू नै आगामी निर्वाचनमार्फत नीति निर्माता बन्न सक्ने अवस्था सिर्जना भएको मञ्चको दाबी छ।

आन्दोलनले उठाएका मुद्दा र युवाहरूको बलिदानलाई सम्मान नगरी हुन लागेको निर्वाचनलाई ‘गुमेको अवसर’ को संज्ञा दिँदै मञ्चले ती मुद्दाहरू उजागर गर्न तथा वैकल्पिक राजनीतिक धार निर्माण गर्न आफूहरू निर्वाचनमा सहभागी भएको जनाएको छ।