वीर अस्पतालले स्वास्थ्य बीमा मार्फत औषधि सेवा घटायो

User Image Prime TV News २ हप्ता अगाडि
Image of वीर अस्पतालले स्वास्थ्य बीमा मार्फत औषधि सेवा घटायो

काठमाडौ । वीर अस्पतालले दीर्घरोगी बिरामीका लागि स्वास्थ्य बीमा मार्फत उपलब्ध गराइने औषधि सेवा घटाएको छ।

अस्पतालले अब एकपटकमा तीन महिनाभन्दा एक महिनाको मात्र औषधि उपलब्ध गराउने निर्णय गरेको छ। यो व्यवस्था १ फागुनदेखि लागू हुनेछ र अर्को सूचना नआउञ्जेल लागू रहनेछ। अस्पतालका निर्देशक डा. दिलीप शर्माका अनुसार, बीमा बोर्डले लामो समयदेखि भुक्तानी नदिँदा सेवा कटौती गर्न बाध्य भएको हो।

बीमा मार्फत अस्पतालले हालसम्म ४० करोडभन्दा बढी रकम लिन बाँकी रहेको उनले जानकारी दिए। डा. शर्मा भन्छन्, “वीर अस्पताल गरिबको सेवा केन्द्र भएकाले पूर्ण रूपमा सेवा रोक्न सकिँदैन। आर्थिक दायित्व कम गर्न सीमित सेवा उपलब्ध गराएको हो।” अस्पतालले औषधि खरिद र उपकरण निर्माणमा कठिनाइ भोगिरहेको छ।

स्वास्थ्य बीमा कार्यक्रम अहिले चरम आर्थिक संकटमा छ। लामो समयदेखि भुक्तानी नपाएपछि ठूला अस्पतालहरूले समयसीमा तोकेर सेवा बन्द गर्न थालेका छन्। बोर्डका अनुसार, सूचीबद्ध स्वास्थ्य संस्थालाई असार मसान्तसम्म ११ अर्बभन्दा बढी भुक्तानी बाँकी छ। यसले बिरामीलाई सेवा नपाउने र स्वास्थ्य बीमा कार्यक्रम अलपत्र पर्न सक्ने जोखिम बढाएको छ।