नेपाली कांग्रेसले विविध पेशा र क्षेत्रका व्यक्तिहरूलाई पार्टीमा आबद्ध हुन आह्वान
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले विभिन्न पेशा र क्षेत्रमा सक्रिय व्यक्तिहरूलाई पार्टीमा सहभागी हुन आह्वान गरेको छ।
पार्टी प्रवक्ता देवराज चालिसेले शुक्रबार जारी विज्ञप्तिमा नयाँ राजनीतिक परिवेशमा कांग्रेसले संगठन सुदृढीकरण, नीतिगत स्पष्टता र जनविश्वास पुनःस्थापनालाई प्राथमिकता दिएको बताएका छन् ।विज्ञप्तिमा भनिएको छ, “वैज्ञानिक, चिकित्सक, शिक्षक, वकिल, उद्योगी, सूचना–प्रविधि, कृषि, श्रम र नागरिक समाजका प्रतिष्ठित व्यक्तिहरूलाई नेपाली कांग्रेसमा आबद्ध हुन हार्दिक आमन्त्रण गर्दछौं। वैकल्पिक शक्ति निर्माण र समाज रूपान्तरणमा योगदान गर्न चाहने सबैलाई स्वागत छ।”
पार्टीले देश र लोकतन्त्र सुदृढीकरणका लागि नयाँ सोच, नवीन ऊर्जा र अनुभवी व्यक्तिहरूको सहभागिता आवश्यक रहेको पनि उल्लेख गरेको छ। कांग्रेसले संस्थागत मूल्य, पारदर्शिता, जवाफदेहिता र नीतिमा आधारित राजनीतिलाई प्राथमिकता दिने नीति जारी गरेको छ।












